पर्सा, २०८२ जेठ ३०
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु. गुल्म वीरगञ्जबाट खटिएको टोलीले आज वीरगञ्जको विभिन्न स्थानबाट अवैध रुपमा भित्र्याइएको कुल १८ लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
पहिलो घटनामा, वीरगञ्ज महानगरपालिका–१६ स्थित त्रिभुवन राजपथको भन्सार चेकजाँच विन्दु नजिकै भारतबाट नेपालतर्फ आइरहेको BR05AT0475 नम्बरको मोटरसाइकल चेकजाँच गर्दा, सवारीमा सवार पर्सा, वीरगञ्ज–२ छप्कैयाका अन्दाजी १९ वर्षीय राहुल कुमार तिवारीले मोटरसाइकलको एअर फिल्टर बक्समा लुकाइछिपाई ल्याएको रु. १३ लाख नेपाली रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
तिवारीलाई प्रयोग गरिएको मोटरसाइकलसहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
त्यस्तै, सोही दिन सशस्त्र प्रहरीको अर्को टोलीले वीरगञ्ज भन्सार गेट नजिकै भारतबाट नेपाल प्रवेश गर्दै गरेको ना ४७ प ९७१० नम्बरको HERO GLAMOUR मोटरसाइकलमा सवार बारा, प्रसौनी गाउँपालिका–२ निवासी ४० वर्षीय कौशल कुमार गुप्ताको शरीरका विभिन्न भागमा लुकाएर ल्याइएको रु. ५ लाख नेपाली रुपैयाँ बरामद गरेको हो। उनलाई समेत मोटरसाइकलसहित नियन्त्रणमा लिइ भन्सार कार्यालयमा बुझाइएको छ।
सशस्त्र प्रहरी बलले यी कार्यहरूलाई अवैध रुपमा भन्सार छली गरिएको चोरी पैठारीका रुपमा लिएर थप अनुसन्धान अघि बढाइएको जनाएको छ।



