वीरगञ्ज, पर्सा जेठ ३०
भारतको अहमदाबादमा हालै घटेको विमान दुर्घटनामा ज्यान गुमाएका पीडितप्रति नेपाल जनता पार्टी, पर्सा जिल्ला समितिले दीप प्रज्वलन कार्यक्रममार्फत श्रद्धाञ्जली अर्पण गरेको छ।
शुक्रवार साँझ वीरगञ्जको ऐतिहासिक घण्टाघर चोकमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा दुर्घटनाका मृतकप्रति गहिरो शोक व्यक्त गर्दै दिप प्रज्वलन गरिएको हो। कार्यक्रमको अध्यक्षता नेपाल जनता पार्टी, पर्सा जिल्ला अध्यक्ष अनिल पटेलले गरेका थिए। कार्यक्रममा पार्टीका वरिष्ठ नेता सन्तोषानंद महाराज, विनोद पटेल, सुरेश पटेल, अनिल प्रसाद कुर्मी लगायत अन्य नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष पटेल र पार्टीका महामन्त्री इन्जिनियर राजिनन्द चौधरीले दुर्घटनामा निधन भएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना गरे। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै पार्टी सधैं जनभावनामा आधारित सामाजिक उत्तरदायित्वमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरिएको थियो।
नेपाल जनता पार्टीले मानव पीडामा साथ दिनु आफ्नो दायित्व हो भन्दै यस्ता जनसम्वेदनशील घटनामा सदैव सक्रिय रहने जनाइएको छ।



