वीरगंज, ५ असार
वीरगंज उद्योग वाणिज्य संघमा महिला उद्यमशीलता सहायता कक्षको विशेष समारोहका बीच औपचारिक उद्घाटन गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले रिबन काटेर कक्षको उद्घाटन गर्दै महिलाको सशक्तिकरण तथा आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता पहल अत्यन्तै महत्वपूर्ण भएको बताए।
उनले महिला उद्यमशीलताप्रति देखिएको उत्साह सराहनीय रहेको उल्लेख गर्दै, वीरगंज उद्योग वाणिज्य संघको यो कदमले नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरे।
उद्घाटन कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले अध्यक्षता गर्दै संघले महिला उद्यमीलाई आवश्यक सहयोग र सहजीकरण गर्दै जाने प्रतिवद्धता दोहोर्याए। उनले महिलाको योगदान विना आर्थिक विकास सम्भव नभएको प्रस्ट्याउँदै सहायता कक्षबाट तालिम, बजार पहुँच, व्यवसायिक सल्लाह लगायतका सेवा उपलब्ध हुने जानकारी दिए।
कार्यक्रममा वीरगंज महानगरपालिका कार्यालयका प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले महानगरपालिकाले सहायता कक्षका लागि आवश्यक स्थान प्रदान गर्ने प्रतिबद्धता जनाए।
नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक हरि पौडेलले सहायता कक्षले महिलामा उद्यमशीलता जागृत गर्दै स्वरोजगारतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे।
महिला उद्यमशीलता सहायता कक्षकी सहजकर्ता संजु कलवारले सहायता कक्षमार्फत व्यवसायिक सल्लाह, तालिम, जानकारी तथा प्रोत्साहन प्रदान गरिने जानकारी दिइन्।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख पवन पंजियार, वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष आशिष लाठ, कोषाध्यक्ष अनोज रुंगटा, सहसचिव अनुप अग्रवाल, महिला समृद्धि नेपाल कार्यक्रम मधेश प्रदेशका सदस्य डा. बासुलाल कर्ण लगायत संघका पदाधिकारी तथा व्यवसायीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।


