वीरगञ्ज, असार ६
वीरगञ्ज महानगरपालिका अन्तर्गत स्वास्थ्य तथा सामाजिक विकास महाशाखाको जन स्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा खाद्य सुरक्षा र सरसफाई सम्बन्धी अभिमुखीकरण कार्यक्रम वीरगञ्जको होटल मकालुमा सम्पन्न भएको छ।
कार्यक्रममा संक्रामक तथा महामारीजन्य रोग, खानेपानीको गुणस्तर, तथा खाद्य निगरानी प्रणाली सम्बन्धी विषयमा विस्तृत जानकारी दिइनुका साथै व्यवसायीहरूसँग प्रभावकारी छलफलसमेत गरिएको थियो।
कार्यक्रमको अध्यक्षता होटल व्यवसायी संघका अध्यक्ष हरी पन्तले गरेका थिए भने प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण रहेका थिए। उनले सम्बोधन गर्दै होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई नागरिकको स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने गरी गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गर्दै स्थानीय तहबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे।
अभिमुखीकरण कार्यक्रममा वीरगञ्जका विभिन्न होटल तथा रेस्टुरेन्टहरूका व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूलाई खाद्य सुरक्षाका मापदण्ड, सरसफाईका विधि, तथा नियमित अनुगमनका उपायहरूबारे प्राविधिक जानकारी प्रदान गरिएको थियो।आयोजक जनस्वास्थ्य प्रवर्द्धन शाखाले उक्त कार्यक्रमले व्यवसायीहरूलाई सचेतना अभिवृद्धि गर्न मद्दत पुग्ने र उपभोक्ताहरूलाई गुणस्तरीय सेवा दिन प्रोत्साहित गर्ने विश्वास व्यक्त गरेको छ।



