सामुदायिक विद्यालयबाट ४.०० GPA ल्याउने सचिन मेहतालाई वीरगंज युवा समाजद्वारा सम्मान

Spread the love

वीरगंज, पर्सा 

असार २१

 सामुदायिक विद्यालयका मेधावी विद्यार्थी सचिन मेहतालाई वीरगंज युवा समाजले विशेष सम्मान गरेको छ। त्रिजुद्ध माध्यमिक विद्यालयबाट एसईई (SEE) परीक्षा दिएका सचिन पर्सा जिल्लाभरका सामुदायिक विद्यालयहरूबाट ४.०० GPA हासिल गर्ने एकमात्र विद्यार्थी हुन्।

उक्त अवसरमा वीरगंज युवा समाजले उनलाई नगद रु. ५१००/-, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो। समाजको आयोजनामा स्थानीय होटल मकालुको सभाहलमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षता तथा प्रहरी उपरीक्षक गौतम मिश्रको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा पर्सा जिल्ला फुटबल संघका अध्यक्ष रोशन गुप्ता, फोटो पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ, डा. मनोज उपाध्याय, डा. प्रिटी यादव, समाजसेवी सुभद्रा राणा भट्टराई, बिनोद धिमाल, पूर्ण गुरुङ, मनोज गुप्ता लगायत विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन तथा सहजीकरण संस्थाका सल्लाहकार मार्टिन मोक्तानले गरेका थिए।

सम्मानित विद्यार्थी सचिन मेहताले आफ्नो उपलब्धिलाई शिक्षक, अभिभावक र आफ्नै निरन्तर मेहनतको फल भन्दै सबैलाई धन्यवाद ज्ञापन गरे। कार्यक्रममा वक्ताहरूले सचिनको सफलता सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे।

वीरगंज युवा समाजले यस्ता प्रतिभाहरूलाई निरन्तर प्रोत्साहन गर्दै सामाजिक उत्तरदायित्व पूरा गर्न कटिबद्ध रहेको प्रतिबद्धता जनाएको छ।

Scroll to Top