वीरगंज, पर्सा
असार २४
भू–जल सतह घटेपछि वीरगंजमा देखिएको पानी संकट गम्भीर बन्दै गएको छ । चापाकलहरू सुक्न थालेसँगै स्थानीयवासीको दैनिकी प्रभावित भएको छ । खाना पकाउने, सरसफाइदेखि पशुपालनजस्ता आधारभूत कार्यहरूमा समेत समस्या सिर्जना भएको छ ।
यस्तो संकटपूर्ण अवस्थामा वीरगंज महानगरपालिकाले ट्याङ्की र ट्याङ्करमार्फत पानी आपूर्ति सुरु गरेको छ । खानेपानी संस्थानको सेवा नपुगेका क्षेत्रमा बोरिङ र अस्थायी ट्याङ्की जडान गरी पानी पुर्याउने कार्य तीव्र पारिएको छ । पानीको चरम अभाव झेलिरहेका वडाहरूमा दैनिक तालिकाअनुसार वितरणको व्यवस्था मिलाइएको छ ।
महानगर प्रमुख राजेशमान सिंहले यो संकटलाई ‘गम्भीर प्राकृतिक आपत्’को रूपमा व्याख्या गर्दै सबै पक्षलाई सहकार्यका लागि आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “यो सामान्य अवस्था होइन, प्राकृतिक आपत् हो । अहिले तत्काल राहत र दीर्घकालीन समाधान दुवैमा महानगर क्रियाशील छ ।”
महानगरले खानेपानी संस्थानसँग समन्वय गर्दै केही सार्वजनिक स्थानमा अस्थायी धारा र ट्याङ्की जडान गरेको जानकारी दिएको छ । सीमित स्रोतका बाबजुद ३२ वटै वडामा पानी पुगोस् भन्ने उद्देश्यसहित वितरण तालिका लागू गरिएको हो । महानगरको तर्फबाट सबै वडामा समान रूपमा पानी आपूर्ति गर्न निर्देशन दिइएको छ ।
पानी संकट समाधानलाई महानगरले उच्च प्राथमिकता दिँदै आवश्यक परे डिप बोरिङ, पम्पिङ प्रणाली र भू–जल व्यवस्थापन जस्ता दीर्घकालीन योजनाहरू कार्यान्वयनमा ल्याइने जनाएको छ ।
वीरगंजका नागरिकहरूका लागि यो पहल तत्काल राहतको माध्यम बनेको छ भने दीर्घकालीन समाधानप्रति पनि आशा जगाएको छ।


