धार्मिक आस्थामाथि ठेस पुर्‍याएको भन्दै वीरगन्जमा विरोध, प्रधानमन्त्री कार्यालयलाई ज्ञापन-पत्र

Spread the love

वीरगन्ज, असार ११ 

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा हिन्दु धर्मावलम्बीहरूको धार्मिक आस्थामाथि ठेस पुग्ने अभिव्यक्ति दिइएको भन्दै पर्साका दुई धार्मिक सङ्गठनले विरोध जनाएका छन्।

राष्ट्रिय बजरंग दल, पर्सा र नेपाल विश्व हिन्दु महासंघ, पर्साले बिहीबार संयुक्त रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन-पत्र बुझाउँदै सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाहीको माग गरेका हुन्।

नेपाल विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष श्रीनन्दन भारद्वाज र राष्ट्रिय बजरंग दल पर्साका प्रतिनिधि विवेक सिन्हाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी दाहाललाई ज्ञापन-पत्र हस्तान्तरण गरेको थियो।

ज्ञापन-पत्रमा रास्वपाको महाधिवेशनमा सहभागी प्रतिनिधि महबुब आलमले भगवान श्रीराम र लक्ष्मणलाई राजनीतिक व्यक्तिसँग तुलना गरी हिन्दु धर्मावलम्बीहरूको धार्मिक भावनामा आघात पुग्ने अभिव्यक्ति दिएको आरोप लगाइएको छ। राजनीतिक लाभ र सस्तो लोकप्रियताका लागि हिन्दुहरूको आराध्य देवको नाम विवादमा तानिएको भन्दै दुवै सङ्गठनले उक्त अभिव्यक्तिको कडा भर्त्सना गरेका छन्।

सङ्गठनहरूले कुनै पनि राजनीतिक व्यक्तिको महिमामण्डनका लागि करोडौँ हिन्दुहरूको आस्थाका केन्द्र भगवान श्रीरामको नाम प्रयोग गर्नु निन्दनीय र घृणित कार्य भएको उल्लेख गरेका छन्।

ज्ञापन-पत्रमार्फत धार्मिक आस्थाको सम्मान गर्न, आराध्य देवहरूको नाम राजनीतिक प्रचारका लागि दुरुपयोग नगर्न, सम्बन्धित व्यक्तिबाट सार्वजनिक रूपमा माफी माग्न तथा यस्ता गतिविधि दोहोरिएमा कडा आन्दोलन र कानुनी प्रक्रियामा जाने चेतावनी दिइएको छ।

ज्ञापन-पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले विषयलाई गम्भीरतापूर्वक लिइएको बताउँदै धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा असर पुग्ने गतिविधिलाई कानुनअनुसार सम्बोधन गरिने आश्वासन दिनुभएको छ।

दुवै धार्मिक सङ्गठनले धर्म, संस्कृति र सनातन परम्पराको संरक्षणका लागि सम्पूर्ण सनातनी समुदायलाई एकजुट हुन समेत आह्वान गरेका छन्।

Scroll to Top