वीरगञ्ज।
पुस १
इनर ह्वील वीरगञ्जको आयोजनामा पथलैया स्थित वृद्धाश्रममा च्यारिटी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत त्यहाँ आश्रित वृद्ध–वृद्धालाई जाडोबाट जोगाउन ब्ल्यांकेट, टोपी, मोजा तथा विभिन्न प्रकारका खानेकुरा वितरण गरिएको थियो।

समाजसेवाको भावनासहित आयोजित उक्त कार्यक्रममा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूसँग आत्मीय भेटघाट गर्दै उनीहरूको अवस्था र आवश्यकताबारे जानकारी समेत लिइएको थियो। सहभागीहरूले वृद्धहरूलाई सम्मान र स्नेह प्रदान गर्दै सहयोग सामग्री हस्तान्तरण गरेका थिए।
कार्यक्रममा इनर ह्वील वीरगञ्जकी अध्यक्ष मञ्जुरी श्रेष्ठ, सम्पादक प्रियंका झा, आईएसओ सरिता यादव तथा सदस्यहरू रञ्जिता साह र रोशिता श्रेष्ठको उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै समाजका असहाय तथा वृद्ध वर्गप्रति सबैको जिम्मेवारी रहेको उल्लेख गरे।



