वीरगञ्जमा विद्यालयस्तरीय क्रिकेटको उत्सव, पाँच खेलमा देखियो युवा प्रतिभाको चमक

Spread the love

वीरगञ्ज , पौष ८

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) महानगरको आयोजनामा वीरगञ्जमा सञ्चालन भइरहेको दोस्रो संस्करणको छात्रा तथा जुनियर छात्र क्रिकेट प्रतियोगितामा मंगलबार पाँचवटा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्। छात्रा र जुनियर छात्र दुवै तर्फका खेलमा विद्यालय टोलीहरूले उत्कृष्ट प्रदर्शन गर्दै क्रिकेटप्रेमीहरूको ध्यान आकर्षित गरेका छन्।

छात्रातर्फ सम्पन्न दुई खेलमध्ये पहिलो खेलमा गुरुकुल एकेडेमीले सनसाइन एकेडेमीलाई ८ रनले पराजित गर्दै जित हात पारेको छ। रोमाञ्चक प्रतिस्पर्धामा गुरुकुलकी आग्रदा झा ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। अर्को खेलमा एसआर ग्यालेक्सी स्कुलले ज्ञानवाटिका माविलाई पराजित गर्दै विजयी यात्रा जारी राख्यो। उक्त खेलमा एसआर ग्यालेक्सीकी रागिनी कुश्वाहा उत्कृष्ट प्रदर्शनका कारण ‘प्लेयर अफ द म्याच’ बनिन्।

त्यसैगरी, जुनियर छात्रतर्फ मंगलबार तीन खेलहरू सम्पन्न भए। पहिलो खेलमा फुर्क्वान एकेडेमीले डल्फिन एकेडेमीलाई ६० रनको फराकिलो अन्तरले पराजित गर्दै आफ्नो दबदबा देखायो। उक्त खेलमा फुर्क्वानका शेख हबिबुल्लाह ‘प्लेयर अफ द म्याच’ घोषित भए।

दोस्रो जुनियर छात्र खेलमा अल्पाइन स्कुल र एसआर ग्यालेक्सी एकेडेमीबीच कडा प्रतिस्पर्धा देखियो, जहाँ एसआर ग्यालेक्सीले ३ विकेटले जित निकालेको छ। सो खेलका उत्कृष्ट खेलाडी एसआर ग्यालेक्सीका रितिक कुश्वाहा रहे।

जुनियर छात्रतर्फकै तेस्रो खेलमा साउथजोन माध्यमिक विद्यालयले लिटल एञ्जल्स सेकेन्डरी स्कुललाई ८१ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो। उक्त खेलमा साउथजोनकी शिवानी साह ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

आयोजक प्याब्सन महानगरका सचिव अमित आलोकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ। प्रतियोगिता आगामी दिनहरूमा थप रोमाञ्चक खेलहरूसहित जारी रहनेछ।

Scroll to Top