वीरगञ्ज , पौष ८
बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायमाथि भइरहेका अमानवीय आक्रमण, हत्या र धार्मिक उत्पीडनका घटनाले सम्पूर्ण मानव समाजलाई स्तब्ध बनाएको छ। यस्ता बर्बर घटनाविरुद्ध नेपालका विभिन्न संघ–संस्थाहरू आक्रोशित बनेका छन्। यसैक्रममा विश्व हिन्दू परिषद् (विहिप) नेपालले बंगलादेश सरकारको गम्भीर लापरबाही र मौनताप्रति तीव्र आपत्ति जनाउँदै काठमाडौँस्थित बंगलादेशी दूतावासमार्फत राजदूतलाई कडा ज्ञापनपत्र बुझाएको छ।
विहिप नेपालका राष्ट्रिय सचिव राजेन्द्र प्रसाद चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा बंगलादेशी नागरिक दिपु चन्द्र दासलाई रुखमा बाँधेर जिउँदै जलाइएको घटनालाई ‘सभ्य समाजमाथिको कालो दाग र चरम बर्बरता’ भन्दै घोर निन्दा गरिएको छ। “सबै धर्म बराबर हुन् र ईश्वर एउटै हुन्” भन्ने मानवीय अभिव्यक्ति व्यक्त गरेकै कारण दासको निर्मम हत्या हुनु मानव अधिकार, धार्मिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूमाथिको खुला आक्रमण भएको विहिपको ठहर छ।
ज्ञापनपत्रमा यस्ता घटनाहरूले अन्तर्राष्ट्रिय मानव अधिकार महासन्धिको ठाडो उल्लंघन गर्नुका साथै दक्षिण एसियाभर धार्मिक द्वेष र अस्थिरता फैलाउने गम्भीर खतरा उत्पन्न गरिरहेको चेतावनी दिइएको छ। विहिप नेपालले दिपु चन्द्र दासको हत्याको स्वतन्त्र, निष्पक्ष र अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान गरी दोषीहरूलाई कडा कानुनी कारबाही गर्न माग गरेको छ।
साथै, बंगलादेशभर रहेका अल्पसंख्यक हिन्दूहरूको जिउधन, धार्मिक स्वतन्त्रता र सम्पत्तिको पूर्ण सुरक्षा सुनिश्चित गर्न, मन्दिर तथा सांस्कृतिक सम्पदामाथि भइरहेको आक्रमण तत्काल रोक्न र पीडित परिवारलाई न्याय, क्षतिपूर्ति तथा सुरक्षा दिन परिषद्ले बंगलादेश सरकारलाई स्पष्ट चेतावनीसहित आग्रह गरेको छ।

मानवतामाथि भइरहेको यस क्रूर आक्रमणविरुद्ध मौन बस्नु अपराध सरह हुने भन्दै विहिप नेपालले अन्तर्राष्ट्रिय समुदायलाई पनि एकजुट भएर दबाब सिर्जना गर्न आह्वान गरेको छ।


