चर्चित पत्रकार ऋषि धमलाकी पत्नी मोडेल एलिजा गौतम आम जनता पार्टीमा आबद्ध

Spread the love

वीरगञ्ज ,पौष ९

 मोडेल एलिजा गौतम आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन्। बुधबार काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बसेको आजपा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदै गौतम पार्टीमा आबद्ध भएकी हुन्।

आजपा अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी गौतमलाई टीका र माला लगाई पार्टीमा स्वागत गरेका हुन्। पार्टी प्रवेशका क्रममा गौतमले समाजसेवालाई निरन्तरता दिँदै राजनीतिमार्फत थप सशक्त रूपमा आवाज उठाउनका लागि आजपामा प्रवेश गरेको बताइन्।

उनले आजपाले उठाउँदै आएको मुद्दा, नीति र विचार मुलुक तथा नेपाली जनताको हितमा रहेको उल्लेख गर्दै समाजसेवाका कामहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

पछिल्लो समय विभिन्न राजनीतिक दल परित्याग गरी आजपामा प्रवेश गर्नेहरूको लहर चलेको छ। यसैक्रममा नेपाली कांग्रेस निकट जनजाति महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तेजबहादुर कुम्हाल, नेपाली कांग्रेस सर्लाहीका नेता तथा पूर्वमुखिया रामबाबु साह, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य ललिता चौधरी (सिरहा) लगायतका नेताहरू पनि आजपामा प्रवेश गरेका छन्। उक्त जानकारी आजपा सचिवालय सदस्य सुभाष साहले दिएका हुन्।

प्रज्ञा भवनमा जारी आजपाको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनको रणनीति, उम्मेदवार छनोटको मापदण्ड लगायतका विषयमा छलफल गर्ने एजेन्डा रहेको आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले जानकारी दिए।

Scroll to Top