वीरगञ्ज , पौष १९
नेकपा एमालेभित्र बारा–३ को उम्मेदवार छनोट प्रक्रियालाई लिएर तीव्र विवाद चर्किएको छ। महिला नेत्री ज्वाला साहले उम्मेदवार छनोट केवल प्रक्रियागत त्रुटिमा सीमित नभई योजनाबद्ध रूपमा महिला नेतृत्व, योगदान र संगठनात्मक मूल्यांकनलाई कमजोर बनाउने प्रयास भएको गम्भीर आरोप लगाएकी छन्।
उनले पार्टीभित्र प्रतिस्पर्धा, समावेशिता र पारदर्शिता अनिवार्य हुनुपर्ने बताउँदै बारा–३ मा महिलाको योगदानलाई जानाजानी ओझेलमा पारिएको दाबी गरिन्। “यो केवल उम्मेदवार चयनको विषय होइन, महिला नेतृत्वमाथिको राजनीतिक अपमान हो,” साहको भनाइ छ।
पार्टीभित्र गुटबन्दी गरिरहेका कथित नेताहरूलाई कडा चेतावनी दिँदै उनले गुपचुप तरिकाले पार्टी चल्न नसक्ने स्पष्ट पारेकी छन्।
“प्रतिस्पर्धा गर्नै छ भने खुला रूपमा आउनुहोस्, म प्रतिस्पर्धा गर्न तयार छु,” भन्दै उनले चुनौती समेत दिएकी छन्।
मतदान प्रक्रिया गलत र अस्वीकार्य रहेको जनाउँदै साहले बारा–३ को उम्मेदवारी छनोट प्रक्रिया बहिष्कार गर्ने घोषणा गरेकी छन्। जिल्लास्तरीय नेतृत्वको गैरजिम्मेवार व्यवहारले सिंगो पार्टी पंक्तिमा निराशा र खलल पैदा गरेको उनको टिप्पणी छ।
यो विवादले एमालेभित्र गहिरिँदै गएको गुटबन्दी, शक्ति संघर्ष र नेतृत्व कब्जाको यथार्थलाई सतहमा ल्याएको विश्लेषण गरिएको छ। कार्यकर्ताको मतभन्दा ‘लाइन’ र ‘लबी’ हावी हुने प्रवृत्तिले पार्टीको जनाधार कमजोर बन्ने खतरा बढ्दै गएको देखिन्छ।
विवाद चर्किँदै गएपछि केन्द्र वा प्रदेश तहबाट छानबिन समिति गठन हुने वा पुनः छलफल हुने सम्भावना बढेको छ। उल्लेखनीय कुरा के छ भने हालसम्म देशकै कुनै जिल्लामा पनि मतदान प्रक्रियाबाट एमालेको उम्मेदवार छनोट भएको देखिएको छैन।
स्थानीय कार्यकर्ताहरूबीच बढ्दो असन्तोषसँगै बारा–३ को उम्मेदवार सिफारिस अब केवल एक क्षेत्रको विषयमा सीमित नरही नेकपा एमालेभित्र आन्तरिक लोकतन्त्र जीवित छ कि समाप्त हुँदैछ भन्ने गम्भीर प्रश्नका रूपमा उभिएको छ।


