नेपाल जनता पार्टीद्वारा हिन्दू पत्रकार संघलाई भवन र नगद पुरस्कारको ऐतिहासिक घोषणा

Spread the love

वीरगञ्ज , माघ ४

नेपाल जनता पार्टीले पत्रकारिताको माध्यमबाट हिन्दूत्व र समाज सेवामा योगदान पुर्‍याउँदै आएका सञ्चारकर्मीहरूको सम्मान तथा वृत्तिविकासका लागि ठोस पहल गरेको छ। वीरगञ्जको रानीसती धर्मशालामा आयोजित विशेष समारोहमा पार्टीले हिन्दू पत्रकार संघको केन्द्रीय कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने र वार्षिक रूपमा नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।

समारोहलाई सम्बोधन गर्दै नेपाल जनता पार्टीका वरिष्ठ नेता सन्तोषानन्द महाराजले हिन्दू पत्रकार संघको केन्द्रीय कार्यालयका लागि १० धुर जग्गामा एकतल्ले भवन निर्माण गरिदिने उद्घोष गर्नुभयो। साथै, आगामी वर्षदेखि लागू हुने गरी संघको निर्णयअनुसार वितरण गरिने तीनवटा नगद पुरस्कार घोषणा गर्नुभयो।

घोषित पुरस्कारमा काशीनाथ तिवारी पुरस्कार अन्तर्गत नगद २५ हजार रुपैयाँ, अनिल पटेल पुरस्कार अन्तर्गत नगद २५ हजार रुपैयाँ र युवा क्रियाशील पत्रकारिता पुरस्कार अन्तर्गत नगद १५ हजार रुपैयाँ रहनेछ। पुरस्कार छनोटको सम्पूर्ण अधिकार हिन्दू पत्रकार संघलाई नै दिइएको छ। यसका साथै संघमा आबद्ध सदस्यहरूको बीमा व्यवस्थापन समेत पार्टीले गरिदिने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रमका विशिष्ट अतिथि तथा हिन्दू पत्रकार संघका केन्द्रीय अध्यक्ष राजन रौनियारले नेपाल जनता पार्टीको यस पहलप्रति आभार व्यक्त गर्दै यसलाई संघको इतिहासकै ‘ऐतिहासिक दिन’ का रूपमा उल्लेख गर्नुभयो। उहाँले आगामी निर्वाचनमा सबै हिन्दूवादी शक्तिहरू व्यक्तिगत स्वार्थ त्यागेर एकजुट हुनुपर्नेमा जोड दिनुभयो। धर्म र संस्कृतिको संरक्षणका लागि संघले विभिन्न दलहरूबीच सेतुको भूमिका निर्वाह गर्न तयार रहेको उहाँको भनाइ थियो।

नेपाल जनता पार्टीका पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हिन्दू पत्रकार संघका केन्द्रीय सल्लाहकार तथा पदाधिकारीहरूलाई विशेष सम्मान गरिएको थियो। कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू, जिल्ला कार्यसमिति सदस्यहरू तथा विभिन्न विभागका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले सञ्चार क्षेत्र र धर्म–संस्कृतिको उत्थानका लागि नेपाल जनता पार्टी र हिन्दू पत्रकार संघबीचको सहकार्यले नयाँ सम्भावना र सकारात्मक आयाम थप्ने विश्वास व्यक्त गरेका थिए।

Scroll to Top