वीरगन्ज कपडा बैंकद्वारा कालिकामाइमा नि:शुल्क कम्बल वितरण

Spread the love

वीरगञ्ज, माघ ११

वीरगन्ज कपडा बैंकले पर्सा जिल्लाको कालिकामाइ गाउँपालिका–४ मा नि:शुल्क कम्बल वितरण गरेको छ। गाउँपालिका–४ अन्तर्गत परशुरामपुर बलुवा टोलका दलित तथा एकल महिलालाई लक्षित गर्दै २० थान कम्बल वितरण गरिएको बैंकका सदस्य तथा युवा समाजसेवी नवराज भट्टराईले जानकारी दिए।

उक्त कम्बल सहयोग वीरगन्ज कपडा बैंकका सल्लाहकार समाजसेवी राजेश बर्णवालले उपलब्ध गराएका हुन्। कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष संजय कुमार साहले दिनदुखी, असहाय र विपन्नको सेवा–सहयोगमा सबैले सक्दो योगदान दिनुपर्नेमा जोड दिए। “सेवा नै सर्वोत्तम धर्म हो,” भन्दै उनले मानवताको मर्मअनुसार सामाजिक सेवामा सक्रिय रहन आग्रह गरे। साथै, वीरगन्जबाट आएर भए पनि कम्बल सहयोग उपलब्ध गराएकोमा कपडा बैंकको मुक्तकण्ठले प्रशंसा गरे।

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी सिकन्दर देवान, बैंकका सदस्य युवा समाजसेवी केदार गुप्ता तथा स्थानीय अग्रज, युवा र महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष सिंहले ‘सेवा नै धर्म हो’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै “कपडा बिना कोही पनि नाङ्गो नरहोस्” भन्ने उद्देश्यका साथ विगत सात वर्षदेखि दाताहरूको सहयोगमा दिनदुखी तथा असहायको सेवा गर्दै आइरहेको बताए। उनले आजको कम्बल सहयोग उपलब्ध गराउने सल्लाहकार समाजसेवी राजेश बर्णवालप्रति आभार व्यक्त गर्दै मानवीय सेवामा साथ दिने सम्पूर्ण दाता, शुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरे।

Scroll to Top