वीरगञ्ज–३० मा कांग्रेस उम्मेदवार अनिल रुङटाको रात्रिकालीन चुनावी अभियान तीव्र, विकास र रोजगारी प्राथमिकतामा

Spread the love

बीरगञ्ज , माघ १८

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार अनिल रुङटाले वीरगञ्ज महानगरपालिका वडा नं. ३० मा रात्रिकालीन चुनावी अभियानलाई तीव्रता दिएका छन्। स्थानीयवासीहरूको उल्लेखनीय सहभागिताबीच सम्पन्न उक्त कार्यक्रममा रुङटाले जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएका समस्या, विकासका अवरोध र समाधानका उपायबारे स्पष्ट धारणा राख्दै कांग्रेसको नेतृत्वमा मात्रै समावेशी र दिगो विकास सम्भव हुने बताए।कार्यक्रमलाई सम्बोधन गर्दै उमेदवार रुङटाले वडा नं. ३० लगायत पर्सा क्षेत्र नं. १ का नागरिकहरूले भोग्दै आएका आधारभूत समस्या, सडक, ढल व्यवस्थापन, शिक्षा, स्वास्थ्य सेवा, रोजगारी र सुरक्षालाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले भने, “जनताको खाँचो र चाहनालाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्छ। कागजी योजना होइन, जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास नै मेरो लक्ष्य हो।” रुङटाले युवाहरूलाई रोजगारीसँग जोड्ने कार्यक्रम, साना व्यवसायी र किसानलाई सहुलियत, तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँच र गुणस्तर बढाउने योजना पनि अघि सारे। उनले कांग्रेस लोकतन्त्र, समावेशिता र सामाजिक न्यायको पक्षमा सधैं उभिएको पार्टी भएकाले जनताले विश्वास व्यक्त गरे। स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै उनले सुझाव र गुनासोहरू ध्यानपूर्वक सुनेका थिए, जसले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।उक्त रात्रि चुनावी अभियान कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यबाहक सभापति रामनारायण कुर्मी, पूर्व नगरसभापति विजय सर्राफ, पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, सचिव हरि यादव, पूर्व सभापति भोला साह कलवार, उपसभापति अनिल सिंह,हरिन्द्र यादव,रामनिवास,बाबुनन्द पटेल, लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। नेताहरूले कांग्रेस उम्मेदवार रुङटालाई विजयी गराउन एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आह्वान गरेका थिए।स्थानीयवासीहरूले पनि कार्यक्रममा आफ्ना समस्या, अपेक्षा र सुझाव खुला रूपमा राखेका थिए। उनीहरूले विकासका काममा निरन्तरता, पारदर्शिता र जवाफदेहिता आवश्यक रहेको धारणा व्यक्त गरे। रात्रिकालीन कार्यक्रम भए पनि स्थानीयको उत्साहपूर्ण सहभागिताले वडा नं. ३० मा चुनावी माहोल थप तातेको देखिन्थ्यो।

Scroll to Top