वीरगञ्ज, भाद्र २
सर्वोच्च अदालतले गौर हत्याकाण्डमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि समेत अनुसन्धान गर्नेगरी परमादेश जारी गरेपछि जसपाका नेता–कार्यकर्ताहरू सडक आन्दोलनमा उत्रिएका छन्।
वीरगञ्जको घन्टाघर चोकमा सोमबार जसपा नेपालका कार्यकर्ताले सडकमा टायर जलाएर सर्वोच्चको निर्णयको विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले “मधेस आन्दोलनका उपलब्धि समाप्त पार्ने उद्देश्यले अदालतले यस्तो आदेश दिएको हो” भन्दै नाराबाजी गरेका थिए।
जसपाका नेता तथा कार्यकर्ताहरूले अदालतको परमादेशलाई अन्यायपूर्ण र पूर्वाग्रही ठहर गर्दै यसको प्रतिवाद सडक संघर्षमार्फत गर्ने चेतावनी दिएका छन्।
यता जनकपुरधामको रामानन्द चोकमा पनि जसपा कार्यकर्ताले यस्तै ढंगले विरोध प्रदर्शन गरेका थिए। पार्टीले यस कदमलाई मधेस आन्दोलनको अपमान र उपलब्धिमाथि कुठाराघातको प्रयास भएको भन्दै देशव्यापी विरोध कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ।


