एस आर ग्यालेक्सी स्कुल च्याम्पियन, डिपिएसलाई ३–१ ले हराउँदै ज्ञानुदेवी मेमोरियल कप उचाल्यो

Spread the love

बीरगञ्ज, २६ माघ 

जिवनज्योती स्कुल, बीरगञ्जद्वारा आयोजित ज्ञानुदेवी मेमोरियल कप जुनियर नकआउट फुटबल टुर्नामेन्ट–२०८२ सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ। आदर्शनगर खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा एस आर ग्यालेक्सी स्कुलले डिपिएसलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो।

प्रतियोगिताको समापन तथा फाइनल खेलअघि आयोजित कार्यक्रममा कार्यक्रमका अध्यक्ष शिव गुप्ता, अतिथिहरू तथा परिवारजनले स्व. ज्ञानुदेवीको तस्बिरमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरेका थिए। प्रतियोगिताको औपचारिक उद्घाटन बीरगञ्ज महानगरपालिकाको शैक्षिक शाखा प्रमुख आनन्द ढुंगानाले गरेका थिए।

१६ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिताको उद्घाटन माघ २१ गते बीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरेका थिए। माघ २६ गतेसम्म चलेको प्रतियोगिताको फाइनलमा एस आर ग्यालेक्सी स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै डिपिएसलाई ३–१ ले पराजित गरी विजेता बन्न सफल भयो।

त्यसैगरी, प्रतियोगिता समापनकै दिन बिहान सम्पन्न मैत्रीपूर्ण खेलमा बीरगञ्ज युवा समाज–११ ले ज्ञानुदेवी मेमोरियल–११ लाई टाइब्रेकरमा ३–० ले पराजित गरेको आयोजक जिवनज्योती स्कुलकी सञ्चालक मिनाक्षी गुप्ताले जानकारी दिइन्।

समापन समारोहमा प्रमुख अतिथि आनन्द ढुंगानाले बीरगञ्ज खेलकुद र खेलाडी उत्पादनका लागि उर्वर भूमि रहेको उल्लेख गर्दै जुनियर स्तरका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको यस्ता प्रतियोगिता अत्यन्तै सराहनीय रहेको बताए। उनले आयोजक टिमलाई सफल आयोजनाका लागि धन्यवाद समेत व्यक्त गरे।

सो अवसरमा आयोजक जिवनज्योती स्कुलका प्रिन्सिपल तथा स्व. ज्ञानुदेवीका सुपुत्र शिव गुप्ताले आफ्नी आमालाई खेल, विशेषगरी फुटबलप्रति गहिरो रुचि रहेको स्मरण गर्दै खेलकुदले शारीरिक र मानसिक स्वास्थ्य सुदृढ बनाउनुका साथै देशको नाम विश्वभर चिनाउन सहयोग गर्ने धारणा व्यक्त गरे। आमाको स्मृतिमा आयोजना गरिएको यस प्रतियोगितामार्फत विद्यालय तहबाटै बालबालिकालाई खेलकुद तथा स्वास्थ्यप्रति जागरुक बनाउँदै असल नागरिक बनाउने प्रयास गरिएको उनले बताए।

कार्यक्रमको अन्त्यमा उनले विजेता, उपविजेता, सहभागी सम्पूर्ण विद्यालय, विद्यार्थी तथा सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गरेका थिए।

Scroll to Top