बीरगञ्ज , माघ २९
पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर २ का खेखरिया, झिँगण, छतुवन टाँडी तथा कटानी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
घरदैलोका क्रममा स्थानीयवासीले पर्सा–२ मा यसपटक परिवर्तनको चाहना बलियो बनेको प्रतिक्रिया दिएका छन्। सहभागीहरूले आगामी मतदानमार्फत समाजमा सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दै उम्मेदवार कानुप्रति समर्थन जनाएका थिए।
उम्मेदवार सुशील कुमार कानुले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्राथमिक समस्यालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्सागढी क्षेत्रमा अस्पताल तथा स्वास्थ्य सेवाको स्तरोन्नति, खेलकुद पूर्वाधार विकास, कृषकलाई समयमै मल उपलब्ध गराउने व्यवस्था तथा सिंचाइका लागि पानीको सुनिश्चिततामा पहल गर्ने बताए।
त्यसैगरी बेरोजगार युवालाई लक्षित गर्दै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिम प्रदान गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना अघि सार्दै उनले निर्वाचित भएसँगै आधारभूत समस्याहरू चरणबद्ध रूपमा समाधान गर्ने प्रतिबद्धता जनाए।
घरदैलो कार्यक्रममा रास्वपाका नेता शर्फु आलमका अनुसार फिरोज मियाँ, समीर अन्सारी, धीरेन्द्र राउत, विनय कुमार ओझा, श्यामसुन्दर शाह, गंगा आचार्य, कविराज अर्याल, चन्द्रशेखर चौधरी लगायतका नेताकार्यकर्ताको सहभागिता रहेको थियो।


