बीरगञ्ज , माघ २९
पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. ४ डोकैला र बहुवरिमा आज नेपाल जनता पार्टीका तर्फबाट घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमका क्रममा नेताकार्यकर्ताले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको एजेन्डा र प्रतिबद्धता प्रस्तुत गरेका थिए।
घरदैलोमा सहभागीहरूले “एक भोट राष्ट्रका लागि”, “राष्ट्रिय एकता”, “हर हर कमल, घर घर कमल” जस्ता नारासहित मतदातासमक्ष समर्थन मागेका थिए। पार्टीले युवा, महिला र विद्यार्थीलाई उच्च सम्मान दिने, आर्थिक विकासलाई तीव्रता दिने तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।
त्यसैगरी सनातन हिन्दू राष्ट्र नेपाल र रामराज्य स्थापनाको अवधारणा अघि सार्दै भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा–स्वास्थ्य, सुशासन, विकास र सुरक्षामा जोड दिइएको बताइएको छ। किसानलाई उच्च प्राथमिकतामा राख्ने, खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्ने, मेडिकल कलेज स्थापना तथा क्रिकेट स्टेडियम निर्माण गर्ने योजना समेत सार्वजनिक गरिएको छ।
रामायण सर्किट निर्माणमार्फत धार्मिक पर्यटन प्रवर्द्धन गरी रोजगारी सिर्जना र क्षेत्रीय समृद्धि हासिल गर्ने लक्ष्यसहित नेपाल जनता पार्टीले कमल छापमा मतदान गर्न मतदातासँग साथ, सहयोग र आशीर्वाद मागेको जनाएको छ।


