बीरगञ्ज , फाल्गुन २
पर्सा क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रतिनिधिसभा उम्मेदवार विना जयसवाल कुर्मी ले पर्सागढी नगरपालिका–६ चैनपुरमा घरदैलो कार्यक्रम सञ्चालन गरेकी छन् । आगामी निर्वाचनको तयारीस्वरूप आयोजित उक्त कार्यक्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै मतदाताको समर्थन मागेकी छन् ।
घरदैलो अभियानका क्रममा कुर्मीले विकास, सुशासन र जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा स्थानीयसँग छलफल गरिन् । मतदाताले उठाएका सडक, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भनिन्, “स्थानीयको सुझाव र गुनासोलाई मेरो प्राथमिकतामा राखेर काम गर्नेछु ।”
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कुर्मीले आगामी निर्वाचनमा राप्रपाको पक्षमा मतदान गर्न अपिल गर्दै पार्टीका राष्ट्रिय एजेन्डालाई स्थानीय सन्दर्भसँग जोडेर प्रस्तुत गरिन् । उनले भनिन्, “राप्रपा राष्ट्रिय एकता, प्रजातन्त्र र विकासको पक्षधर पार्टी हो ।”
उनको चुनावी एजेन्डामा राप्रपाको राष्ट्रिय घोषणापत्रअनुसार राजतन्त्रलाई अभिभावकीय संस्थाका रूपमा पुनर्स्थापना गर्ने, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने, संघीय संरचना खारेज गर्दै केन्द्रीकृत शासन प्रणाली लागू गर्ने तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउने विषय समावेश छन् । साथै कृषिमा लगानी वृद्धि, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, आर्थिक उदारीकरण र राष्ट्रियताको संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।
स्थानीय स्तरमा पर्सा जिल्लाको सिँचाइ व्यवस्था सुधार, स्वास्थ्य सेवा विस्तार र युवालाई लक्षित रोजगारीका कार्यक्रमलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता पनि उम्मेदवार कुर्मीले व्यक्त गरेकी छन् ।


