पर्सा–२ मा रास्वपाको शक्ति प्रदर्शनः ५८ जना विभिन्न दल परित्याग गरी पार्टी प्रवेश

Spread the love

वीरगञ्ज, ४ फागुन 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानु ले सोमबार वीरगञ्ज महानगरपालिका–२८ अन्तर्गत बगही र इनरवा टोलमा घरदैलो अभियान सञ्चालन गर्दै जनतासँग प्रत्यक्ष संवाद गर्नुभएको छ।

घरदैलोका क्रममा उम्मेदवार कानुले रास्वपा नेतृत्वमा सरकार बनेपछि दलित समुदाय लक्षित स्वास्थ्य सेवामा सुधार, शिक्षामा सहज पहुँच तथा स्थायी रोजगारीको व्यवस्था गर्दै जनताको जीवनस्तर उकास्ने कामलाई प्राथमिकतामा राखिने विश्वास व्यक्त गर्नुभयो। उहाँले विकास, रोजगारी, शिक्षा र कृषिलाई आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पार्दै रास्वपाले हालै सार्वजनिक गरेको ‘जनतासँगको करार पत्र’ अनुसार निर्वाचित भएको पाँच वर्षसम्म निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

“जनताको आवश्यकता र चाहनाअनुसार नीति तथा कार्यक्रम निर्माण गरी व्यवहारमै देखिने विकास गर्ने हाम्रो लक्ष्य हो,” कानुले भन्नुभयो। साथै, समावेशी विकास र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले सबै वर्ग, समुदाय र क्षेत्रको हक–हितका लागि काम गर्ने उहाँले दोहोर्‍याउनुभयो।

घरदैलोपछि आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा भने उल्लेख्य संख्यामा राजनीतिक ध्रुवीकरण देखिएको छ। विभिन्न राजनीतिक दल परित्याग गर्दै ५८ जना स्थानीय नेता तथा कार्यकर्ताले रास्वपामा प्रवेश गरेका छन्। नेकपा (एमाले) का दलित नेता शिसम् महारा सहित नेपाली काँग्रेस, जसपा नेपाल र आजपा लगायतका दलबाट आएका नवप्रवेशीहरूलाई उम्मेदवार कानुले अबिर र पार्टीको खादा लगाएर स्वागत गर्नुभएको थियो।

नवप्रवेशीहरूले पुराना दलहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै परिवर्तन र नयाँ राजनीतिक संस्कारको आवश्यकता महसुस गरी राष्ट्रिय स्वतन्त्र पार्टी रोजेको बताएका छन्। उनीहरूले समावेशी सोच, पारदर्शी राजनीति र जनमुखी एजेन्डा बोकेको रास्वपालाई घण्टी छापमा मतदान गरी विजयी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

बगही र इनरवा टोलमा भएको व्यापक पार्टी प्रवेशलाई स्थानीय स्तरमा रास्वपाप्रति बढ्दो जनसमर्थनका रूपमा हेरिएको छ।

Scroll to Top