वीरगञ्जमा रामनवमी अवसरमा आज ‘महाआरती’ आयोजना

Spread the love

वीरगञ्ज, १३ चैत्र 

मधेश प्रदेशको चर्चित धार्मिक स्थल श्री गहवा माई मन्दिर परिसरमा आज रामनवमीको पावन अवसरमा भव्य ‘महाआरती’ कार्यक्रम आयोजना हुँदैछ। मन्दिर व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको श्री गहवा माई तीर्थ क्षेत्र विकास समिति ले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।

मन्दिरको मुख्य प्रवेशद्वार अगाडि हुने यस विशेष धार्मिक अनुष्ठान आज साँझ ठीक ६:३० बजेदेखि सुरु हुने समितिले जनाएको छ। यस कार्यक्रमले वीरगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानलाई अझ उचाइमा पु¥याउने विश्वास गरिएको छ।

समितिका सचिव लक्ष्मी नारायण गुप्ता तथा विशेष अनुरोधकर्ता डा. पुरुषोत्तम दुवे ले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमार्फत सञ्चारकर्मी र आम श्रद्धालुहरूलाई कार्यक्रममा उपस्थित भई पुण्य लाभ लिन हार्दिक निमन्त्रणा गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “वीरगञ्जको गौरवसँग जोडिएको यस पवित्र अवसरमा सहभागी भई कार्यक्रमलाई सभ्य र भव्य बनाउन सबैमा अनुरोध गर्दछौँ। साथै, यस महत्वपूर्ण क्षणको समाचार सम्प्रेषण तथा प्रचार–प्रसारका लागि सञ्चारकर्मी साथीहरूमा विशेष आग्रह गर्दछौँ।”

कार्यक्रमका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाइएको समितिले जनाएको छ। श्रद्धालुहरूको उल्लेखनीय सहभागिताले आजको ‘महाआरती’ कार्यक्रम अझ भव्य र ऐतिहासिक बन्ने अपेक्षा गरिएको छ।

Scroll to Top