वीरगञ्जमा ट्राफिक कडाइ: घण्टाघरबाट बिना नम्बर प्लेटका ९ इभि स्कुटी नियन्त्रणमा

Spread the love

वीरगञ्ज ,वैशाख १३

ट्राफिक नियमको पालना गराउन तथा सवारी व्यवस्थापनलाई थप सुदृढ बनाउन जिल्ला ट्राफिक कार्यालय पर्साले निरन्तर चेकजाँच अभियानलाई तीव्र बनाएको छ। यसैक्रममा आज वीरगञ्जको घण्टाघर क्षेत्रमा गरिएको नियमित चेकजाँचका क्रममा बिना नम्बर प्लेट सञ्चालनमा रहेका ९ वटा इलेक्ट्रिक (इभि) स्कुटी फेला परेका छन्।

ट्राफिक प्रहरीले सवारीसाधनको कागजात, दर्ता स्थिति तथा ट्राफिक नियमको पालनाबारे विशेष निगरानी गर्दै आएको छ। सोही अभियानअन्तर्गत घण्टाघर आसपास क्षेत्रमा चेकजाँच गर्दा आवश्यक कागजातबिना तथा नम्बर प्लेट नराखी सञ्चालन गरिएका ती स्कुटीहरू नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक कार्यालय पर्साका ट्राफिक प्रहरी अर्जुन सोडारीले जानकारी दिनुभयो।

ट्राफिक प्रहरीले पछिल्लो समय विशेष गरी इभि सवारी साधनहरूमा नम्बर प्लेट नराखी सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै यसप्रति कडाइ गरिने जनाएको छ। साथै, सबै सवारी चालकलाई नियमअनुसार सवारी दर्ता गरी अनिवार्य रूपमा नम्बर प्लेट राख्न तथा आवश्यक कागजात साथमा राख्न आग्रह गरिएको छ।

जिल्ला ट्राफिक कार्यालय पर्साले आगामी दिनहरूमा पनि यस्ता चेकजाँचलाई अझ प्रभावकारी बनाउँदै लैजाने र नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।

Scroll to Top