वीरगञ्ज , वैशाख २०
जितपुर–सिमरा उपमहानगरपालिकाद्वारा अमलेखगन्जस्थित क्यु–२० होटेलमा आयोजित शिक्षक उत्प्रेरणा कार्यक्रममा सहभागी शिक्षकहरूले व्यवस्थापन पक्षको लापरवाहीप्रति असन्तुष्टि जनाएका छन्। कार्यक्रममा खाजाको रूपमा वितरण गरिएको बिरियानी गनाएको अवस्थामा रहेको भन्दै शिक्षकहरूले स्वास्थ्यसँग खेलवाड गरिएको आरोप लगाएका हुन्।
कार्यक्रम बिहान ११ बजेदेखि सुरु भएको थियो। दिनभर कार्यक्रममा सहभागी बनेका शिक्षकहरू बेलुका करिब ४:३० बजे खाजा खान पुगेका थिए। तर, खाजाका रूपमा राखिएको बिरियानीबाट दुर्गन्ध आएको भन्दै अधिकांश शिक्षकहरूले खाना नखाई फालेर फर्किएको बताएका छन्।
“दिनभर भोकै बसेर कार्यक्रममा सहभागी भयौं, तर खाजा खाने बेला बिरियानी गनाएको थियो। हामीले सबै फालेर फर्कियौं,” एक सहभागी शिक्षकले गुनासो गर्दै भने।
शिक्षकहरूले यस्ता कार्यक्रमहरूमा सहभागीहरूको स्वास्थ्य र गुणस्तरीय व्यवस्थापनप्रति आयोजक गम्भीर हुनुपर्ने बताएका छन्। उनीहरूले खाद्यान्नको गुणस्तरमा ध्यान नदिँदा सहभागीहरूको स्वास्थ्य जोखिममा परेको आरोपसमेत लगाएका छन्।
घटनाबारे आयोजक पक्षले भने औपचारिक प्रतिक्रिया दिएको छैन।



