वीरगञ्ज समाज सेवाको निःशुल्क भोजन सेवा तेस्रो वर्षमा पनि निरन्तर

Spread the love

वीरगञ्ज, जेष्ठ ३

वीरगञ्ज समाज सेवाले नारायणी अस्पताल प्राङ्गणमा विगत दुई वर्षदेखि सञ्चालन गर्दै आएको साप्ताहिक निःशुल्क भोजन कार्यक्रम तेस्रो वर्षमा पनि निरन्तरता दिएको छ। प्रत्येक शनिबार बिहान ९:३० बजेदेखि सञ्चालन हुँदै आएको उक्त सेवा कार्यक्रम यस वर्षको जेठ महिनाको पहिलो सातामा पनि सभ्य र भव्य रूपमा सम्पन्न गरिएको हो।

कार्यक्रम अन्तर्गत अस्पतालमा उपचाररत बिरामी, कुरुवा, असहाय व्यक्ति, रिक्सा तथा ई–रिक्सा चालक, यात्रु र बटुवाहरूलाई घरमा बनाएको जस्तै सफा, शुद्ध, गुणस्तरीय तथा पोषिलो भोजन प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै वीरगञ्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले “सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विगत दुई वर्षदेखि प्रत्येक शनिबार करिब ४५० देखि ५०० जनालाई निःशुल्क भोजन सेवा प्रदान गर्दै आएको बताए। उनले दिनदुःखी तथा असहायहरूको सेवा गर्दा उनीहरूको अनुहारमा देखिने खुशीले आफूहरूलाई थप प्रेरणा मिल्ने गरेको उल्लेख गर्दै सबैलाई आ–आफ्नो स्थानबाट सामाजिक सेवामा हातेमालो गर्न आग्रह गरे। साथै, अभियानलाई तेस्रो वर्षसम्म निरन्तरता दिन सहयोग गर्ने दाता, शुभेच्छुक, सल्लाहकार, पदाधिकारी तथा सहयोगीप्रति आभार व्यक्त गरे।

समाजका सचिव प्रकाश बाहेतीले “कोही भोकै नरहोस्” भन्ने उद्देश्यका साथ दुई वर्षअघि माइस्थान मन्दिर प्राङ्गणबाट सेवा अभियान सुरु गरिएको स्मरण गरे। उनले नारायणी अस्पतालजस्तो विपन्न तथा असहायहरूको उपचारस्थलमा निरन्तर निःशुल्क भोजन सेवा गर्न पाउँदा गर्व महसुस भएको बताए। साथै, आजको कार्यक्रममा खाद्यान्न सहयोग तथा प्रत्यक्ष सेवा प्रदान गरेको श्री सत्य साई सेवा संगठन वीरगञ्ज परिवारप्रति विशेष धन्यवाद व्यक्त गरे।

शनिबार आयोजित भोजन कार्यक्रममा शुद्ध शाकाहारी परिकार अन्तर्गत भात, दाल, कोभी–आलुको मिश्रित तरकारी, हरियो भुटेको खुर्सानीको अचार तथा हरियो काक्रो वितरण गरिएको थियो। समाजका सेवकहरूले वृद्ध, महिला तथा बालबालिकालाई बोलाएर थप–थप भोजन खुवाउँदै सेवा प्रदान गरेका थिए।

अध्यक्ष अशोक गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्री सत्य साई सेवा संगठन वीरगञ्जका पदाधिकारी तथा सेवकहरू, सामाजिक अभियन्ता लालबाबु सिंह, सचिव प्रकाश बाहेती, निशान्त लाठ, कल्पना किङरिङ, मुकेश अग्रवाल, रामबाबु गुप्ता, बजरङ अग्रवाल, शंकर राई, सांचे मगर तथा रिम खबर नेपालका सञ्चारकर्मी आकाश पटेललगायतको सहभागिता रहेको थियो।

Scroll to Top