नागरिकता प्रकरणमा पक्राउ परेका वीरगञ्जका मेयर राजेशमान सिंह रिहा

Spread the love

वीरगञ्ज, १९ जेठ 

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह अदालतको आदेशपछि रिहा भएका छन्। पर्सा जिल्ला अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि प्रहरीले नियन्त्रणमुक्त गरेको हो।

मेयर सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलले सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर सिंह रिहा भएको जानकारी सार्वजनिक गरेका हुन्।

यसअघि नागरिकता लिखतसम्बन्धी गम्भीर कसुरको अनुसन्धानका क्रममा प्रहरीले मेयर सिंहलाई पक्राउ गरेको थियो। पर्सा जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले उनलाई पर्साको ठोरीस्थित ‘ठोरी भिलेज रिसोर्ट’बाट नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार सिंहविरुद्ध लिखत किर्तेसम्बन्धी मुद्दामा अदालतको आदेशअनुसार जेठ ८ गते पक्राउ पुर्जी जारी गरिएको थियो। त्यसपछि नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि जेठ १२ गते पुनः पक्राउ पुर्जी जारी गरिएको थियो।

उक्त मुद्दाको अनुसन्धान तथा कानुनी प्रक्रिया चलिरहेकै अवस्थामा अदालतको पछिल्लो आदेशपछि उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ।

मेयर सिंहको रिहाइसँगै यो प्रकरण वीरगञ्जको राजनीतिक तथा सामाजिक वृत्तमा थप चर्चाको विषय बनेको छ। नागरिकता र लिखतसम्बन्धी आरोपबारे अनुसन्धान प्रक्रिया भने अझै जारी रहेको जनाइएको छ।

Scroll to Top