वीरगञ्ज, २३ जेठ
क्रियाशील युवा पत्रकार मञ्च नेपालद्वारा वीरगञ्जमा बृहत् खुला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। वीरगञ्ज क्षेत्रमा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै मानव जीवन बचाउने तथा रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले घण्टाघर चौकमा कार्यक्रम आयोजना गरिएको हो।

क्रीयाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३ महिला सहित कुल ६० जनाले रक्तदान गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल तथा विशिष्ट अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, दीपक पटेल, सौरभराज पाण्डे, बृजेश चौधरीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका नागरिक, युवा, समाजसेवी तथा रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले रक्तदानलाई जीवनदानको रूपमा व्याख्या गर्दै नियमित रक्तदान अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले रक्तदान मानवताको सबैभन्दा ठूलो सेवा भएको उल्लेख गर्दै रगतको अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता अभियान आवश्यक रहेको बताए। उनीहरूले युवाहरूलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नियमित रूपमा रक्तदान गर्न आग्रह गरे।
नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेलले रक्तदानले बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने धारणा व्यक्त गरे। उनले समाजमा रक्तदानसम्बन्धी सकारात्मक सन्देश फैलाउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
आयोजक संस्थाले रक्तदान कार्यक्रममा सहभागी भएका सम्पूर्ण रक्तदाता, अतिथि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



