वीरगञ्ज, असार १३
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको छ। सफल तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगिता वीरगञ्जस्थित डायमण्ड पार्टी प्यालेसमा सम्पन्न भएको हो।
प्रतियोगितामा विभिन्न डोजाङका खेलाडीबीच कडा प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा सनसाइन तेक्वान्दो डोजाङले ७ स्वर्ण, ३ रजत र ६ कांस्य पदकसहित प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी नगुवा तेक्वान्दो डोजाङले ५ स्वर्ण, ८ रजत र ८ कांस्य पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ भने आयोजक सफल तेक्वान्दो डोजाङले ३ स्वर्ण, ४ रजत र ३ कांस्य पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ। विजेता खेलाडी तथा टोलीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व खानेपानी मन्त्री ओमप्रकाश शर्मा रहेका थिए। विशिष्ट अतिथिका रूपमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक पटेल र पूर्व खेलाडी दीपक तिवारी सहभागी थिए। त्यस्तै प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, आम जनता पार्टीका विश्वराज पटेल, विभिन्न डोजाङका प्रशिक्षक, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगिताको उद्देश्य तेक्वान्दो खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा जिल्लास्तरीय खेल प्रतिस्पर्धालाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ। विभिन्न उमेर र तौल समूहका खेलाडीहरूले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिताले खेलाडीहरूको प्रतिभा प्रदर्शनका साथै अनुशासन, आत्मविश्वास र खेल संस्कृतिको विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।



