वीरगञ्ज , असोज १९
वीरगञ्ज महानगरपालिका–३ स्थित अनिशमान सिंहको निजी घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा हिन्दुवादी नेता रञ्जन सिंह राजपुत पुर्पक्षका लागि कारागार चलान भएका छन्। अनिशमान सिंह नगर प्रमुख राजेशमान सिंह का छाेरा हुन् .।
आपराधिक उपद्रव तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत पर्साले राजपुतलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो। न्यायाधीश सरिता रायमाझीको एकल इजलासले उनलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार पठाउने आदेश दिएको बताइएको छ।
गत २०८२ भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा राजपुतसहितका व्यक्तिहरूले राजेशमान सिंहको निजी निवासमा तोडफोड तथा आगजनी गरेको आरोप छ। घटनापछि सिंहको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अभद्र व्यवहारसम्बन्धी मुद्दामा गत शुक्रबार अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले राजपुतलाई पुनः पक्राउ गरेको थियो। त्यसपछि अनिशमानको घरमा भएको तोडफोड तथा आगजनीसम्बन्धी मुद्दामा प्रहरीले उनलाई अदालतमा पेश गरेको हो।
यसअघि यही घटनामा ‘अब्बु’ भनिने महमद अब्बु हुसेन (अयुब हुसेन) पनि अदालतको आदेशमा पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान भइसकेका छन्।
जेन–जी आन्दोलनका क्रममा वीरगञ्जमा भएका तोडफोड, आगजनी तथा लुटपाटका घटनामध्ये अनिशमान सिंहको निजी घरमा भएको आक्रमणसम्बन्धी घटनामा प्रहरीले थप व्यक्तिमाथि समेत अनुसन्धान अघि बढाइरहेको जनाएको छ।



