वीरगञ्ज , असोज १९
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट ६ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
पार्टीको सहमहामन्त्री पदमा आदिवासी जनजाति क्लस्टरतर्फबाट सुरेन्द्र चौधरी र मधेसी क्लस्टरतर्फबाट अजय चौरसियाले उम्मेदवारी दिने घोषणा गरेका हुन्।
त्यस्तै, केन्द्रीय सदस्य पदमा रामरूप कुर्मी, मुस्लिम क्लस्टरतर्फबाट सहरुम राउत गद्दी तथा मधेसी क्लस्टरतर्फबाट दीपेन्द्र चौहान र असर्फी साहले उम्मेदवारी दिने तयारी गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा आइतबारदेखि औपचारिक रूपमा सुरु भएको हो। पार्टी सभापति गगन थापाले महाधिवेशनको उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत विभिन्न दलका नेताहरू सहभागी भएका थिए।
महाधिवेशनमा सभापति थापाले आगामी पाँच वर्षका लागि कांग्रेसको राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
पर्साबाट सहमहामन्त्री तथा केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा गरी ६ जनाले उम्मेदवारी घोषणा गरेसँगै जिल्लाको प्रतिनिधित्वलाई लिएर कांग्रेसभित्र महाधिवेशनगत गतिविधि थप सक्रिय बनेको छ।
अब पर्साबाट घोषणा भएका उम्मेदवारहरूले सम्बन्धित क्लस्टर र खुला प्रतिस्पर्धामा आफ्नो पक्षमा प्रतिनिधिको समर्थन जुटाउनुपर्नेछ। महाधिवेशनबाट पर्साको प्रतिनिधित्व कस्तो रूपमा स्थापित हुन्छ भन्ने विषय जिल्लाका कांग्रेस नेता–कार्यकर्ताबीच चासोको विषय बनेको छ।


