विजयकुमार सरावगीको रास्वपा सदस्यता खारेज भएको खबर सार्वजनिक, विशेष साहको दबाबपछि निर्णय?

Spread the love

वीरगञ्ज , असोज २३

नेकपा एमाले त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका वीरगञ्जका पूर्वमेयर विजयकुमार सरावगीको पार्टी सदस्यता खारेज भएको खबर सार्वजनिक भएको छ।

सरावगी रास्वपामा प्रवेश गरेपछि जेनजी पर्साका संयोजक विशेष साहले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै पार्टीको राजनीतिक दिशा र नेतृत्वको निर्णयमाथि प्रश्न उठाएका थिए। साहले सरावगीको प्रवेशलाई जेनजी आन्दोलनको उपलब्धिसँग जोड्दै ‘यही हो जेनजीको बलिदानीको उपलब्धि?’ भन्दै टिप्पणी गरेका थिए।

साहले सरावगीको सदस्यता खारेज गराउन पार्टीको केन्द्रीय तहमा पुगेर दबाब दिएको बताइएको छ। त्यसपछि सरावगीको सदस्यता खारेज भएको खबर सार्वजनिक भएको हो। यद्यपि, सदस्यता खारेजीको आधिकारिक निर्णय र त्यसको कारणबारे सम्बन्धित पक्षको औपचारिक पुष्टि आवश्यक छ।

साहले रास्वपाको सदस्यता वितरण प्रक्रियामाथि समेत प्रश्न उठाएका थिए। उनले पार्टीको कुन विधि र विधानअनुसार जिल्ला कमिटीलाई छलेर एमालेका नेताहरूलाई सदस्यता वितरण भइरहेको छ भन्दै पारदर्शितामाथि प्रश्न गरेका थिए।

त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली पनि रास्वपामा प्रवेश गर्न मात्रै बाँकी रहेको भन्दै उनले व्यङ्ग्य गरेका थिए।

सरावगीको पार्टी प्रवेश र त्यसपछि उठेका प्रश्नले रास्वपाभित्र सदस्यता वितरण, संगठनात्मक प्रक्रिया तथा नेतृत्वको निर्णयलाई लिएर बहस चर्किएको देखिएको छ।

Scroll to Top