वीरगञ्ज , कार्तिक १०
देशकै आर्थिक राजधानीका रूपमा परिचित वीरगञ्जमा दैनिक ज्यालामजदुरीको खोजीमा आउने श्रमिकहरूले पर्याप्त काम नपाउँदा जीविकोपार्जनमा समस्या भोग्नुपरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति तेज शमशेर जबराले चिन्ता व्यक्त गरेका छन् ।
पर्सा, बारा तथा आसपासका जिल्लाका ग्रामीण क्षेत्रबाट कामको खोजीमा वीरगञ्ज आउने श्रमिकहरूको अवस्थाबारे जानकारी लिन जबरा घण्टाघर चोक पुगेका थिए । सो क्रममा उनले कामको प्रतीक्षामा रहेका श्रमिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा र अपेक्षाबारे जानकारी लिएका थिए । सो अवसरमा उनले गम्छा र फ्रुटी पनि वितरण गरेका थिए
श्रमिकहरूले वीरगञ्जमा उद्योग तथा कलकारखाना रहे पनि आफूहरूले सहज रूपमा रोजगारी पाउन नसकेको गुनासो गरेका थिए । दैनिक ५०० देखि ७०० रुपैयाँसम्मको ज्यालामा काम गर्नुपर्ने बाध्यता रहेको बताउँदै उनीहरूले नियमित काम नपाउँदा परिवारको दैनिक गुजारा चलाउनसमेत कठिन हुने गरेको बताएका थिए ।
घण्टाघर चोकमा दैनिक ३०० देखि ४०० जनासम्म श्रमिक कामको खोजीमा आउने गरे पनि तीमध्ये करिब आधाले मात्रै काम पाउने गरेको बताइएको छ । बाँकी श्रमिक काम नपाएर रित्तो हात घर फर्किन बाध्य हुने गरेका छन् । दैनिक ज्यालामजदुरीबाट प्राप्त हुने आम्दानीमा निर्भर परिवारलाई काम नपाएको दिन छाक टार्नसमेत समस्या हुने गरेको छ ।
श्रमिकहरूले स्थानीय उद्योग तथा कलकारखानामा रोजगारीको अवसर उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका थिए । नियमित काम पाउने व्यवस्था भए आफूहरूको आर्थिक अवस्था सुधार हुनुका साथै परिवारको भविष्य सुरक्षित हुने उनीहरूको अपेक्षा छ ।
श्रमिकका समस्या र गुनासा सुनेपछि क्षेत्रीय सभापति जबराले वीरगञ्जजस्तो औद्योगिक क्षेत्रमा कामको खोजीमा आउने श्रमिकले रोजगारी नपाउनु चिन्ताजनक विषय भएको बताए । उनले श्रमिकका समस्या समाधानका लागि स्थानीय तहदेखि सङ्घीय सरकारसम्मले गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड दिए ।
जबराले पर्साबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसमक्ष श्रमिकका समस्या राख्ने तथा स्थानीय उद्योगीहरूसँग संवाद अघि बढाएर रोजगारीका अवसर सिर्जना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा जबराले श्रमिकहरूलाई गम्छा ओढाएर सम्मान गर्नुका साथै खाजाको व्यवस्थासमेत गरेका थिए ।
वीरगञ्जमा उद्योग, व्यापार तथा आर्थिक गतिविधि उल्लेख्य रहे पनि कामको खोजीमा आउने श्रमिकले नियमित रोजगारी पाउन नसक्नु स्थानीय श्रम बजारको चुनौतीका रूपमा देखिएको छ । श्रमिकको समस्या समाधान गर्न उद्योगी, स्थानीय सरकार तथा सङ्घीय तहका जनप्रतिनिधिबीच समन्वय र सहकार्य आवश्यक देखिन्छ ।
कार्यक्रममा रास्वपाका तनबिर अन्सारी , वीरगञ्ज महानगरपालिका–७ का सभापति सुमीत चौरसियालगायत जहिर आलम तथा पार्टीका अन्य नेताहरूको उपस्थिति रहेको थियो ।



