वीरगञ्जबाट एक सातादेखि १८ वर्षीय अभिषेक बेपत्ता, खोजीका लागि परिवारको अपिल

Spread the love

वीरगञ्ज , कार्तिक ९ 

मधेस प्रदेशको बारा जिल्लास्थित कोल्हवी नगरपालिका–१०, बेलुवा टोलका १८ वर्षीय अभिषेक चौधरी एक सातादेखि बेपत्ता भएका छन्। गत शनिबार बिहान ७ बजे वीरगञ्जको रानीघाटबाट हराएका छोराको खोजीमा प्रहरीले पर्याप्त चासो नदेखाएको भन्दै उनका बुवा गजेन्द्रप्रसाद चौधरीले गुनासो गरेका छन्।

सोमबार नेपाल पत्रकार महासङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा गजेन्द्रप्रसादले आफ्नो छोरा हराएको घटनाबारे जानकारी दिँदै खोजी कार्यमा सहयोग गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका हुन्।

पत्रकार सम्मेलनमा उनले छोराको खोजीका लागि बाराको सिमरास्थित इलाका प्रहरी कार्यालय र जितपुरस्थित प्रहरी चौकीमा जानकारी गराउँदासमेत अपेक्षित सहयोग नपाएको गुनासो गरे। प्रहरीबाट ‘सेटमा कुरा गरिसकेका छौँ, फेला परेमा खबर गर्छौँ’ भन्ने जवाफ पाएर फर्किनुपरेको उनले बताए।

त्यसैगरी, बाराका प्रमुख जिल्ला अधिकारीलाई समेत फोनमार्फत छोराको अवस्था जानकारी गराएको र आफूलाई भोलिपल्ट आउन भनिएको उनले जानकारी दिए।

छोरा बेपत्ता भएको एक साता बितिसक्दासमेत खोजी कार्यमा पर्याप्त चासो नदेखिएको महसुस भएपछि घटनाबारे सार्वजनिक जानकारी गराउन पत्रकार सम्मेलन गर्न बाध्य भएको गजेन्द्रप्रसादले बताए।

छोरालाई फेला पार्न सहयोग गरिदिन अपिल

बेपत्ता अभिषेक सुस्त मनस्थितिका रहेको बताउँदै बुवा गजेन्द्रप्रसादले उनलाई देख्नुहुने वा उनको अवस्थाबारे कुनै जानकारी पाउनुहुने व्यक्तिलाई परिवारसँग सम्पर्क गरी सहयोग गरिदिन अपिल गरेका छन्।

अभिषेकबारे कुनै जानकारी भएमा ९८०७२७४१४९ नम्बरमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।

पत्रकार सम्मेलनमा अभिषेकका सानो बुवा सुभाष चौधरी, माइजु रिना चौधरी तथा दिदीहरू मौसम चौधरी र हेमा चौधरीलगायत परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो।

Scroll to Top