वीरगञ्ज , कार्तिक ११
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगञ्जमा सञ्चालित बैंकहरूले आफ्नो नाफाबाट छुट्याउने कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कोषको रकम वीरगञ्जकै सामाजिक क्षेत्रमा खर्च गर्न आग्रह गरेका छन् ।
वीरगञ्जस्थित कन्ट्री इन होटलको सभाकक्षमा आज साँझ ‘क’ वर्गका बैंकका प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूसँग भएको छलफलमा सांसद पन्तले यस्तो आग्रह गरेका हुन् ।
छलफलका क्रममा सांसद पन्तले चुनावअघि र चुनावपछि घरदैलो गर्ने क्रममा स्थानीयस्तरमा थोरै लगानीबाट पनि ठूलो सामाजिक उपलब्धि हासिल गर्न सकिने विभिन्न सम्भावना देखेको बताए । समाजमा साना प्रयास र सीमित खर्चबाट सम्पन्न गर्न सकिने धेरै सामाजिक कामहरू भए पनि आवश्यक स्रोतसाधनको अभावमा ती काम पूरा गर्न नसकिएको उनको भनाइ थियो ।
सांसद पन्तले जनताको आवश्यकता र स्थानीय समस्यालाई सम्बोधन गर्न बैंकहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत छुट्याउने रकम वीरगञ्जकै सामाजिक, शैक्षिक, वातावरणीय तथा विकासमूलक कार्यमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय समुदायको आवश्यकता पहिचान गरी सामाजिक कार्यमा सहकार्य गर्न बैंकका प्रमुखहरूलाई आग्रहसमेत गरे ।
छलफलमा बैंकर्स संघका अध्यक्ष रोहिणी आचार्यलगायत विभिन्न बैंकका प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूले कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कोषलाई निर्धारित क्षेत्र र मापदण्डअनुसार सामाजिक क्षेत्रमा खर्च गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
छलफलमा नेपाल एसबीआई बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक र ग्लोबल आइएमई बैंकका प्रदेश प्रमुखहरू सहभागी थिए । त्यस्तै, प्राइम बैंक, हिमालयन बैंक, नबिल बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, एभरेस्ट बैंक, प्रभु बैंक र एनआईसी एसिया बैंकलगायतका बैंकका वीरगञ्जस्थित प्रमुखहरूको उपस्थिति रहेको थियो ।
कृष्ण पासवानले सहजीकरण गरेको छलफलमा रास्वपा पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति तेज शमशेर जबरा, उपसभापति किशोर यादव, सचिव सुदिश प्रजापति, महमादिन आलम र सम्साद आलमको समेत उपस्थिति रहेको थियो ।
नेपालको औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार तोकिएका मापदण्ड पूरा गर्ने उद्योग तथा प्रतिष्ठानले आफ्नो वार्षिक खुद मुनाफाको कम्तीमा एक प्रतिशत रकम कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा खर्च गर्नुपर्ने व्यवस्था छ । यस्तो रकम सामाजिक, वातावरणीय तथा विकासमूलक गतिविधिमा उपयोग गर्न सकिन्छ ।
वीरगञ्ज देशको प्रमुख आर्थिक तथा व्यापारिक केन्द्र रहेकाले यहाँबाट व्यवसाय सञ्चालन गरी नाफा कमाउने बैंक तथा वित्तीय संस्थाले स्थानीय समुदायको विकासमा समेत योगदान दिनुपर्ने विषयलाई सांसद पन्तले प्राथमिकताका साथ उठाएका छन् ।


