वीरगञ्ज, १६ कात्तिक।
पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठाबाट सशस्त्र प्रहरीले हतियार तथा विभिन्न सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ।
सोमबार सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) प्रसौनीभाठाबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई शंकाका आधारमा जाँच गर्दा उनीहरूको साथबाट हतियार तथा अन्य सामग्री बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार उनीहरूले बोकेको झोलाभित्र कपडामा लुकाइछिपाइ राखेको अवस्थामा डमी पेस्तोल एक थान, डमी गोली ६ राउन्ड र छुरा तीन थान बरामद गरिएको छ।
त्यसैगरी, उनीहरूको साथबाट नेपाली रुपैयाँ ९ हजार ४००, भारतीय रुपैयाँ २२ हजार ४०, भिभो कम्पनीका मोबाइल दुई थान तथा विभिन्न किसिमका औषधिसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।



