वीरगञ्ज , कार्तिक १६
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वर्तमान बालेन सरकारले ‘इन्डिया कार्ड’ र ‘चाइना कार्ड’को राजनीतिमा पटक्कै विश्वास नगर्ने बताएका छन् ।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले टाउनहलमा आयोजना गरेको भारतीय राष्ट्रिय गीत ‘वन्दे मातरम्’को १५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै सांसद पन्तले यस्तो बताएका हुन् ।
उनले नेपाल र भारतबीचको सम्बन्ध अत्यन्तै विशिष्ट रहेको उल्लेख गर्दै नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च महत्त्व दिँदै आएको बताए । दुई देशबीचको सम्बन्ध आपसी विश्वास, सहकार्य र साझा सांस्कृतिक विरासतमा आधारित रहेको उनको भनाइ थियो ।
सांसद पन्तले नेपाल र भारतबीच रहेका साझा धार्मिक धरोहर, संस्कृति तथा चाडपर्वले दुवै देशका जनताबीचको सम्बन्धलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेलेको पनि बताए ।
भारतीय महावाणिज्यदूत देवी सहाय मीनाको अध्यक्षतामा सम्पन्न उक्त विशेष सांगीतिक समारोहमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर), नयाँ दिल्लीको तर्फबाट सुश्री विजया भारतीको नेतृत्वमा आएको टोलीले सांगीतिक प्रस्तुति दिएको थियो ।
कार्यक्रममा महावाणिज्यदूत मीनाले भारतीय राष्ट्रिय गीत ‘वन्दे मातरम्’को ऐतिहासिक महत्त्व र यससँग जोडिएका विभिन्न पक्षबारे प्रकाश पारेका थिए ।


