वीरगञ्ज महानगरको सोलार पोल बोर्ड ठेक्कामा अनियमितताको आरोप, केरमेट भएका कागजातलाई मान्यता दिँदै पूनम आर्ट्सलाई ठेक्का !

Spread the love

वीरगञ्ज ,कार्तिक १८

वीरगञ्ज महानगरपालिकाले सोलार पोलमा बोर्ड जडानसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोप लागेको छ । बोलपत्र प्रक्रियामा सहभागी विभिन्न व्यक्ति तथा फर्महरूले प्रतिस्पर्धात्मक रूपमा प्रस्ताव पेस गरे पनि बोलपत्रको मुख्य कागजातमा केरमेट तथा त्रुटि रहेको भनिएको पूनम आर्ट्सलाई ठेक्का प्रदान गरिएको भन्दै महानगरपालिकाको आर्थिक प्रशासन महाशाखाको भूमिकामाथि प्रश्न उठेको हो ।

वीरगञ्ज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि आन्तरिक आय संकलन गर्ने उद्देश्यले सोलार पोल बोर्ड जडानसम्बन्धी ३० दिने सिलबन्दी बोलपत्र आह्वान गरेको थियो । महानगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार उक्त ठेक्काअन्तर्गत २३० वटा सोलार पोलमा २.५ × ४ वर्गफुट आकारका बोर्ड जडान गर्ने व्यवस्था रहेको छ । प्रतिवर्गफुट १५० रुपैयाँका दरले वार्षिक न्यूनतम ठेक्का अंक ३ लाख ४५ हजार रुपैयाँ निर्धारण गरिएको छ भने ठेक्काको अवधि तीन वर्ष तोकिएको छ ।

उक्त ठेक्काका लागि असोज २७ गते बोलपत्र खोलिएको थियो । बोलपत्र प्रक्रियामा विभिन्न व्यक्ति तथा फर्महरूले सहभागिता जनाउँदै आ–आफ्ना प्रस्ताव पेस गरेका थिए । तर, बोलपत्र मूल्याङ्कनका क्रममा पूनम आर्ट्सको प्रस्तावमा रहेको भनिएको कागजातसम्बन्धी त्रुटि र केरमेटलाई बेवास्ता गर्दै सोही फर्मलाई ठेक्का प्रदान गरिएको आरोप लगाइएको छ ।

प्राप्त जानकारीअनुसार पूनम आर्ट्सले पेस गरेको बोलपत्रको मुख्य कागजातमा विभिन्न स्थानमा केरमेट तथा सच्याइएको विवरण रहेको थियो । सार्वजनिक खरिद प्रक्रियामा बोलपत्रदाताले पेस गरेका कागजातको शुद्धता, निर्धारित ढाँचा र सर्तहरूको पालना महत्त्वपूर्ण मानिन्छ । यस्तो अवस्थामा कागजातमा भएको केरमेटलाई कुन आधारमा स्वीकार गरियो र त्यसलाई मूल्याङ्कन प्रक्रियामा कसरी समावेश गरियो भन्ने विषय स्पष्ट हुनुपर्ने देखिन्छ ।

महानगरपालिकाले बोलपत्र आह्वान गर्दा सार्वजनिक गरेको सूचनामै केरमेट तथा अंक र अक्षरबीच फरक परेमा अपनाउनुपर्ने व्यवस्थासमेत उल्लेख गरेको छ । सूचनाको चौथो सर्तमा बोलपत्रदाताले कबोल गरेको रकम अंक र अक्षर दुवैमा स्पष्ट रूपमा उल्लेख गरी सहीछापसहित पेस गर्नुपर्ने व्यवस्था छ । केरमेट भई अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको विवरणलाई मान्यता दिने उल्लेख गरिएको छ । यद्यपि, पूनम आर्ट्सले ठेक्का कबोल गरेको रकम फारममा अक्षरमा एउटा र अंकमा अर्कै उल्लेख गरेको थियो । एउटै बोलपत्रमा अंक र अक्षरमा फरक–फरक रकम उल्लेख हुनु आफैँमा स्पष्ट पार्नुपर्ने विषय हो । तर, पूनम आर्ट्सको बोलपत्रमा रकमसम्बन्धी यस्तो विरोधाभास देखिँदादेखिँदै उक्त प्रस्तावलाई कुन आधारमा स्वीकार गरियो भन्ने प्रश्न उठेको छ । महानगरपालिकाको आर्थिक प्रशासन महाशाखाले सूचनामा उल्लेखित सर्तअनुसार अक्षरमा लेखिएको रकमलाई मात्रै आधार मानेर मूल्याङ्कन गरेको हो वा अन्य कुनै आधारमा निर्णय गरेको हो भन्ने विषय सार्वजनिक हुन सकेको छैन ।

सोही प्रकरणमा महानगरपालिकाको आर्थिक प्रशासन महाशाखाले बोलपत्र मूल्याङ्कन गर्दा अपनाएको प्रक्रिया, प्रतिस्पर्धी फर्महरूले पेस गरेका प्रस्तावको तुलनात्मक विवरण तथा पूनम आर्ट्सलाई छनोट गर्ने निर्णयको आधार सार्वजनिक हुनुपर्ने माग उठ्न सक्ने देखिन्छ ।

सार्वजनिक खरिद प्रक्रियाको मूल उद्देश्य प्रतिस्पर्धा, पारदर्शिता, निष्पक्षता र सार्वजनिक स्रोतको अधिकतम सदुपयोग सुनिश्चित गर्नु हो । बोलपत्र प्रक्रियामा सहभागी अन्य प्रतिस्पर्धीलाई उछिन्दै कुनै एक फर्मलाई ठेक्का प्रदान गर्दा छनोटको आधार र मूल्याङ्कन प्रक्रिया स्पष्ट हुनु आवश्यक हुन्छ । अन्यथा सार्वजनिक खरिद प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ ।

महानगरपालिकाको जवाफदेहिता आवश्यक

ठेक्का प्रक्रियामा अनियमितता भएको आरोप सार्वजनिक भएपछि वीरगञ्ज महानगरपालिकाले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नु आवश्यक देखिएको छ । विशेषगरी पूनम आर्ट्सले पेस गरेको मूल बोलपत्रमा केरमेट भएको भनिएको विषय, त्यस्ता कागजात स्वीकार गर्ने निर्णय, बोलपत्र मूल्याङ्कन समितिको प्रतिवेदन र ठेक्का स्वीकृत गर्ने अधिकारीको निर्णयबारे सार्वजनिक जानकारी आउनुपर्ने देखिन्छ ।

त्यस्तै, बोलपत्र प्रक्रियामा सहभागी अन्य प्रतिस्पर्धी फर्महरूले पनि आफूहरूलाई छनोट नगरिनुको कारण र मूल्याङ्कन प्रक्रियाबारे जानकारी पाउने अधिकार राख्छन् ।

सार्वजनिक रकम र महानगरपालिकाको राजस्वसँग प्रत्यक्ष जोडिएको यस्तो ठेक्का प्रक्रियामा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन तथा निर्णयको आधार सार्वजनिक गर्नु महानगरपालिकाको जिम्मेवारी हो ।

Scroll to Top