बीरगंज , असोज ५
बाराको जितपुरसिमरा उपमहानगरपालिका–८ स्थित आरएमसी कम्पनी नजिकै असोज २ गते भएको सवारी दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार रमौलीबाट जितपुरतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार जितपुरसिमरा–८ का २४ वर्षीय राजु सहनीले बाटोमा अचानक सर्प देखेपछि अत्तालिएर मोटरसाइकलबाट हाम फालेका थिए। हाम फाल्दा उनी गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि सहनीलाई तत्काल उपचारका लागि न्यूरो अस्पताल, काठमाडौं पठाइएको थियो। अस्पतालमा सघन उपचार भइरहेकै अवस्थामा असोज ४ गते आइतबार दिउँसो १२ः५४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



