बीरगञ्ज , फाल्गुन ५
पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक कुमार अग्रवाल (टेमानी) ले जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट बहुदरमाई नगरपालिका–४ डकैलामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा टेमानीले आगामी निर्वाचनमा जसपाको चुनाव चिन्ह ‘छाता छाप’ मा मतदान गर्न आग्रह गर्दै मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिए। उनले मधेसी जनता, अल्पसङ्ख्यक, महिला, मुस्लिम लगायत सबै पीडित समुदायलाई बराबरी अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
घरदैलोका क्रममा स्थानीयसँग अन्तरक्रिया गर्दै उनले भने, “मधेस आन्दोलनले देशलाई सङ्घीयता दियो, तर यसको पूर्ण कार्यान्वयन अझै बाँकी छ। जसपा नेपालको घोषणापत्रअनुसार संविधान संशोधन गरी पहिचानसहितको सङ्घीयता, समानुपातिक प्रतिनिधित्व र सामाजिक न्यायलाई संस्थागत गरिनेछ।”
टेमानीले पार्टी घोषणापत्रका प्रमुख प्रतिबद्धताहरू उल्लेख गर्दै निःशुल्क स्वास्थ्य सेवा, शिशु कक्षादेखि उच्च शिक्षासम्म निःशुल्क शिक्षा, ५० लाख रोजगारी सृजना, वैदेशिक रोजगारीमा ‘फ्री भिसा–फ्री टिकट’ नीति, भ्रष्टाचारविरुद्ध ‘जनलोकपाल’ गठन तथा प्रत्येक प्रदेशमा अत्याधुनिक अस्पताल स्थापना गर्ने बताए।
पर्साको समग्र विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएको उल्लेख गर्दै उनले वीरगञ्जलाई वास्तविक औद्योगिक तथा आर्थिक राजधानी घोषणा गराउने, वीरगञ्ज–पथलैया क्षेत्रलाई औद्योगिक कोरिडोरका रूपमा विकास गरी नयाँ उद्योग स्थापना गर्ने र स्थानीयलाई रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। “मसँग पर्साको स्पष्ट भिजन र रोडम्याप छ। भविष्यमा वीरगञ्जलाई देशकै आर्थिक केन्द्र बनाउनेछु,” उनले भने।
टेमानीले आफू वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्ष रहँदा अघि सारेको ‘ग्रेटर वीरगञ्ज’ अवधारणालाई कार्यान्वयन गर्ने योजना पनि सार्वजनिक गरे। उक्त अवधारणाअनुसार वीरगञ्जलाई नेपालको प्रवेशद्वार मात्र नभई स्वदेशी उद्योग–व्यापारको मूल ढोका बनाउने, रिङ रोड र सिर्सिया कोरिडोर निर्माण, ट्रान्सपोर्ट सिटी स्थापना, औद्योगिक क्षेत्र विस्तार, भारतसँग जोडिने पूर्वाधार सुधार तथा बारा जिल्लाका केही क्षेत्र समेटेर ठुलो महानगर बनाउने लक्ष्य रहेको उनले बताए। यसले स्थानीय व्यापार, पर्यटन र रोजगारीमा तीव्रता ल्याउने विश्वास उनले व्यक्त गरे।


