वीरगञ्ज, २२ माघ
पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा घरदैलो तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो अभियानका क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको दैनिकीसँग सम्बन्धित समस्या, आवश्यकता र अपेक्षाहरू सुने। उनले आफू केवल चुनावी मत माग्न नभई जनताको वास्तविक आवाज संसद्सम्म पुर्याउने उद्देश्यसहित उम्मेदवार बनेको स्पष्ट पारे।
मतदातासँगको छलफलमा कानुले सुशासन, पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर्ने, भ्रष्टाचार अन्त्य गर्ने, स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार ल्याउने र युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने रास्वपाका प्रमुख चुनावी एजेन्डाहरू प्रस्तुत गरे।
“देशमा दीर्घकालीन परिवर्तनका लागि इमानदार नेतृत्व र काम गर्ने राजनीतिक संस्कार आवश्यक छ, र त्यो जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको छ,” उम्मेदवार कानुले बताए।
स्थानीय विकासका सन्दर्भमा उनले खानेपानी, सडक, सरसफाइ तथा आधारभूत पूर्वाधारको दिगो विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै जनताको करको सदुपयोग हुने गरी प्रभावकारी नीति निर्माण र कार्यान्वयनमा दृढतापूर्वक लाग्ने उनको भनाइ थियो।
घरदैलो कार्यक्रममा स्थानीयवासीहरूले उम्मेदवार कानुलाई फूलमाला लगाएर स्वागत तथा सम्मान गरेका थिए। सो अवसरमा उनीहरूले आगामी निर्वाचनमा कानुलाई विजयी गराउने आश्वासन दिँदै परिवर्तनका लागि रास्वपालाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको र आगामी दिनमा निर्वाचन क्षेत्रका अन्य वडाहरूमा पनि जनसम्पर्क तथा घरदैलो अभियानलाई निरन्तरता दिइने जानकारी उम्मेदवार कानुले दिएका छन्।


