मधेशलाई ‘ब्याटल ग्राउन्ड’ बन्न दिँदैनौँ : सांसद अमरेश सिंह

Spread the love

वीरगञ्ज , असोज ४

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले जात, धर्म, भूगोल वा राजनीतिक स्वार्थका नाममा मधेशलाई विभाजित गरी द्वन्द्वको मैदान बनाउन नहुने बताएका छन्।

आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले अबको राजनीति समाज जोड्ने, सामाजिक एकता कायम गर्ने र आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताए। मधेश र कोशी प्रदेशलाई ‘ब्याटल ग्राउन्ड’ बनाउन देशभित्र र बाहिरका विभिन्न शक्ति सक्रिय रहेको आफ्नो दाबी रहेको उनले बताए।

‘हाम्रो अहिलेको बाटो एकताको बाटो हुनुपर्छ, समृद्धिको बाटो हुनुपर्छ,’ सिंहले भने।

सिंहले छठ पर्वपछि मेची–महाकाली पैदल यात्रा गर्ने घोषणा गरेका छन्। उनका अनुसार छठको पारणका दिन जनकपुरधामस्थित गंगासागरमा अर्घ्य दिएर जानकी मन्दिरको दर्शन गरेपछि झापाको भद्रपुरबाट यात्रा सुरु गर्ने योजना छ। यात्रा गाडी वा रथमा नभई पैदल गर्ने उनको भनाइ छ।

पदयात्राको मुख्य उद्देश्य जनतासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षा सुन्नु रहेको सिंहले बताए। गाउँ–गाउँ र टोल–टोल पुग्ने तथा आफूले कम बोल्ने र जनताको कुरा बढी सुन्ने उनले बताए।

उनका अनुसार यात्राका क्रममा स्थानीयस्तरमा ठूलो मञ्च बनाएर भाषण गर्नेभन्दा साना समूहमा नागरिकसँग प्रत्यक्ष छलफल गर्ने योजना छ। युवाको विदेश पलायन, वैदेशिक रोजगारी, किसान तथा मजदुरका समस्या, व्यापारीका समस्या र मधेशको अर्थतन्त्रका विषयमा जनतासँग संवाद गरिने उनले बताए।

सिंहले पदयात्राका क्रममा सीमावर्ती क्षेत्रका नागरिकले भोगिरहेका समस्या, सीमापार व्यापार तथा पारिवारिक र सामाजिक सम्बन्धका विषयमा समेत नागरिकको धारणा लिने बताए।

सीमावर्ती नागरिकले सुरक्षालगायतका विषयमा भोगिरहेका समस्यालाई प्रत्यक्ष रूपमा बुझ्ने र ती विषयलाई राष्ट्रिय बहसमा ल्याउने उनको भनाइ छ।

सिंहले मधेशको विकासका लागि शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, शान्ति–सुरक्षा र सरसफाइलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

शिक्षाको गुणस्तर सुधार, सरकारी स्वास्थ्य संस्थाको क्षमता विस्तार तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ। मधेशका नागरिक जटिल रोगको उपचारका लागि काठमाडौं तथा अन्य ठूला सहरमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारी स्तरमै सुपर स्पेसियलिटी सेवा विस्तार आवश्यक रहेको उनले बताए।

मधेशमा सरकारी मेडिकल, इन्जिनियरिङ तथा कृषि कलेजको आवश्यकता रहेको बताउँदै सिंहले उच्च शिक्षा र स्वास्थ्य पूर्वाधार विस्तारलाई विकासको प्राथमिकतामा राख्नुपर्ने बताए।

मधेशको विकासका लागि सडक तथा सिँचाइ पूर्वाधारलाई पनि प्राथमिकतामा राख्नुपर्ने सिंहको भनाइ छ। हुलाकी राजमार्ग पूर्ण रूपमा सम्पन्न हुन नसकेको तथा विभिन्न स्थानमा पुल र सडक पूर्वाधार निर्माणका समस्या रहेको उनले बताए।

मधेशका खेतमा पर्याप्त सिँचाइ सुविधा पुर्‍याउन नसकिएको भन्दै उनले कोशी तथा गण्डक प्रणालीको पानीलाई प्रभावकारी रूपमा कृषि क्षेत्रमा पुर्‍याउने विषयमा दीर्घकालीन योजना आवश्यक रहेको बताए।

सिंहले मधेशमा विकास बजेटको प्राथमिकतामाथि समेत प्रश्न उठाएका छन्। पोखरी सौन्दर्यीकरणमा ठूलो रकम खर्च गर्ने तर विद्यालय र अस्पतालको भौतिक तथा सेवा क्षमता सुधारमा पर्याप्त ध्यान नदिने प्रवृत्तिमाथि उनले प्रश्न उठाए।

विकास निर्माण गर्दा स्थानीय आवश्यकता र वातावरणीय प्रभावलाई समेत ध्यान दिनुपर्ने बताउँदै उनले विकासलाई केवल कंक्रिट संरचना निर्माणका रूपमा बुझ्न नहुने धारणा राखे।

मधेशमा धार्मिक तथा साम्प्रदायिक तनाव, जातीय विभाजन र आपराधिक गतिविधिका विषयमा पनि सिंहले चिन्ता व्यक्त गरेका छन्। उनले यस्ता विषयमा तथ्यांक र सम्बन्धित निकायका अभिलेखका आधारमा अध्ययन गर्नुपर्ने बताए।

लागुऔषधको समस्या पनि गम्भीर रहेको उल्लेख गर्दै उनले राजनीतिक प्रयाससँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताए।

‘हामी जहाँ छौँ, हाम्रो एउटै पहिचान छ, हाम्रो एउटै समाज छ,’ सिंहले भने।

सिंहले मधेश आन्दोलनको उद्देश्य केवल संविधानमा केही विषय समावेश गराउनु वा राजनीतिक नेतृत्व निर्माण गर्नु मात्र नभई आर्थिक विकास, राजनीतिक सहभागिता र समान अवसर सुनिश्चित गर्नु रहेको बताए।

मधेशको वर्तमान अवस्थाका लागि काठमाडौंलाई मात्र दोष दिएर नहुने भन्दै मधेशका राजनीतिक नेतृत्व र स्थानीय तहले समेत आफ्ना कमजोरीको समीक्षा गर्नुपर्ने उनले बताए।

‘हामी मधेशी नेताहरूले पनि सोच्नुपर्छ, हामीले के गल्ती गर्‍यौँ ?’ उनले प्रश्न गरे।

सिंहले विकास योजनामा अनियमितता तथा कमिसनको आरोप लाग्ने गरेको विषयसमेत उठाए। शिक्षा, स्वास्थ्य, सडक र सिँचाइजस्ता आधारभूत क्षेत्रलाई प्राथमिकता दिँदै योजना छनोट पारदर्शी र आवश्यकतामा आधारित हुनुपर्ने उनको भनाइ छ।

उनले मधेशलाई केवल मधेश प्रदेशका आठ जिल्लामा सीमित गरेर हेर्न नहुने बताउँदै झापादेखि कञ्चनपुरसम्मको भूगोललाई मधेशका सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्धसँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरे।

सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक आधारमा मधेशको महत्वपूर्ण भूमिका रहेको दाबी गर्दै मधेशबाट प्राप्त समर्थनलाई राजनीतिक सहभागिता र विकासका अवसरमा रूपान्तरण गर्नुपर्ने बताए।

मधेशबाट प्राप्त जनमतलाई सरकारले गम्भीर रूपमा बुझ्नुपर्ने तथा मधेशको विकासमा त्यसअनुसार ध्यान दिनुपर्ने उनको भनाइ छ। साथै पार्टीले पहाडी क्षेत्रमा अपेक्षित रूपमा विस्तार गर्न नसकेको विषयमा समेत आत्मसमीक्षा आवश्यक रहेको उनले बताए।

सिंहले आगामी मेची–महाकाली पदयात्रालाई जनतासँग प्रत्यक्ष संवाद गर्ने माध्यमका रूपमा प्रस्तुत गरेका छन्। यात्राका क्रममा नागरिकका समस्या, सुझाव र अपेक्षा संकलन गरी तिनलाई राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने उनको भनाइ छ।

Scroll to Top