वीरगञ्ज , असोज ४
वीरगञ्ज महानगरपालिकाले रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरका ६ जनाका परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने भएको छ ।
भदौ १० गते बिहान भोटेकोसीमा आएको अचानकको बाढीपछि जगरनाथपुरको एउटै टोलका ६ जना युवक तथा किशोर सम्पर्कविहीन भएका थिए । बाढी आएको लामो समय बितिसक्दा पनि उनीहरूको अवस्था अझै अज्ञात छ । बेपत्ता हुनेमध्ये टिमुरेबाट पाँच जना र बेत्रावतीबाट एक जना रहेका छन् ।
आइतबार वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र पूर्व मन्त्री प्रदीप यादव जगरनाथपुर पुगेर बेपत्ता भएका व्यक्तिका परिवारसँग भेटघाट गरेका छन् । भेटका क्रममा उनीहरूले परिवारका सदस्यबाट बेपत्ताको अवस्था, खोजीका क्रममा भएका प्रयास तथा परिवारले भोगिरहेको समस्याबारे जानकारी लिएका थिए ।
नगरप्रमुख सिंहले बेपत्ता परिवारको पीडामा महानगरपालिका साथमा रहेको बताउँदै तत्काल गर्न सकिने राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले बेपत्ताको खोजी, पहिचान तथा परिवारलाई आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने पनि बताए ।
“आफ्नो परिवारको सदस्यको अवस्थाबारे अनिश्चित भएर बस्नुपर्दाको पीडा निकै गम्भीर हुन्छ । यो दुःखको घडीमा वीरगञ्ज महानगरपालिका बेपत्ता परिवारसँगै छ,” सिंहले भने ।
बाढीमा बेपत्ता हुनेमा २१ वर्षीय साहबुद्दिन मन्सुरी, २० वर्षीय राहुल मियाँ, १४ वर्षीय सरताज मियाँ, १७ वर्षीय समिम आलम, २० वर्षीय सर्फराज मियाँ र १६ वर्षीय रिजवान अन्सारी रहेका छन् । साहबुद्दिन, राहुल, सरताज, समिम र सर्फराज टिमुरेस्थित मोटरसाइकल ग्यारेजमा काम गर्न पुगेका थिए भने रिजवान बेत्रावती–१० स्थित अन्सारी मोटरसाइकल वर्कसपमा काम गर्न गएको परिवारले जनाएको छ ।
समिम आलमका बुवा तैयब मियाँ मन्सुरीले खोजीका लागि परिवारका सदस्य टिमुरेसम्म पुगे पनि कुनै जानकारी नपाएको बताए । “शव राखिएको ठाउँसम्म पनि पुगेर खोज्यौँ, तर छोराको कुनै अत्तोपत्तो भएन,” उनले भने । तैयबका दाजु उजिर मियाँ मन्सुरीका छोरा सर्फराज पनि बेपत्ता छन् । साथै, उनीहरूकै आफन्त अहमद मियाँका छोरा राहुल मियाँसमेत बेपत्ता भएको परिवारजनले बताएका छन् ।
बेपत्ताको पहिचानका लागि भेटिएका शवसँग डिएनए परीक्षणमार्फत मिलान गर्न परिवारले रगतको नमुना बुझाइसकेको भए पनि अहिलेसम्म कुनै निश्चित जानकारी प्राप्त नभएको उजिरले बताए । सरताज मियाँ बाढी आउनुभन्दा करिब दुई महिनाअघि मात्रै मोटरसाइकल बनाउने काम सिक्न टिमुरे पुगेको र साहबुद्दिन तथा सर्फराज पनि करिब दुई साताअघि मात्रै त्यहाँ गएको परिवारको भनाइ छ ।
साहबुद्दिनका बुवा अली मियाँले छोराको मोबाइल नम्बरमा अझै पनि फोन गरिरहेकाले आशा नमरेको बताए । “कतै फोन लागिहाल्छ कि, छोरा फर्केर आउँछ कि भन्ने आशा अझै छ,” उनले भने ।
यसैबिच, पूर्व मन्त्री यादवले विपद्का कारण आफन्त बेपत्ता भएका परिवारलाई राज्यका सबै तहबाट सहयोग र समन्वय आवश्यक रहेको बताए । खोजी, पहिचान र राहतलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय गर्ने तथा आफ्नो तर्फबाट समेत पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
वीरगञ्ज महानगरपालिकाले जगरनाथपुरका ६ परिवारसँगै भोटेकोसी बाढीमा परी बेपत्ता भएका वीरगञ्जका अन्य परिवारलाई समेत आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ ।



