वीरगंजमा नेकपा (एमाले) द्वारा १८औँ गणतन्त्र दिवस भव्य रुपमा सम्पन्न

Spread the love

वीरगंज,जेठ १५

नेकपा (एमाले) वीरगंज महानगर कमिटीले १८औँ गणतन्त्र दिवसको अवसरमा वीरगंजमा भव्य मोटरसाइकल र्‍याली, आमसभा तथा सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ। राष्ट्रिय दिवसको उल्लासपूर्ण रुपमा मनाउन आयोजित उक्त कार्यक्रम वीरगंज चिनी मिल गेटबाट सुरु भएको मोटरसाइकल र्‍यालीबाट प्रारम्भ भएको थियो।

र्‍याली वीरगंज महानगरका विभिन्न मुख्य स्थानहरूको परिक्रमा गर्दै ऐतिहासिक घन्टाघरमा पुगेर सभामा परिणत भएको थियो। सभाको अध्यक्षता नेकपा (एमाले) वीरगंज महानगर कमिटीका अध्यक्ष नवराज शर्माले गरेका थिए। प्रमुख वक्ताको रूपमा नेकपा (एमाले) मधेश प्रदेशका उपाध्यक्ष तथा वीरगंज महानगर इञ्चार्ज बिचारी यादवले सम्बोधन गर्दै संविधान निर्माणदेखि गणतन्त्र स्थापनासम्म नेकपा (एमाले)ले खेलेको निर्णायक भूमिकाको स्मरण गराए।

“यो देशको संविधान निर्माणदेखि गणतन्त्र स्थापनासम्म एमालेको योगदान ऐतिहासिक छ र आजको दिन त्यो योगदानलाई स्मरण गर्ने अवसर पनि हो,” यादवले उल्लेख गरे।

कार्यक्रम सञ्चालन नेकपा (एमाले) वीरगंज महानगर कमिटीका सचिव लियाकत अन्सारीले गरेका थिए। कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरू, युवा तथा महिला संगठनका प्रतिनिधिहरू तथा हजारौँ कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको दोस्रो चरणमा नेकपा (एमाले)का नेता तथा कार्यकर्ताहरू वीरगंजस्थित नारायणी अस्पताल पुगेर बिरामीहरूलाई फलफूल वितरण गरेका थिए। सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँदै गरिएको यस कार्यले मानव सेवाको उदाहरण प्रस्तुत गरेको आयोजकहरूले बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा सम्पन्न यस कार्यक्रमले वीरगंजवासीमा राष्ट्रिय भावना जागृत गर्नुका साथै देशप्रतिको जिम्मेवारीबोध थप बलियो बनाएको सहभागीहरूको प्रतिक्रिया रहेको छ।

Scroll to Top