Spread the love

जनकपुर, श्रावण २०

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिले आफ्नै कार्यालय भवन निर्माणतर्फ ऐतिहासिक अग्रसरता लिँदै जनकपुरधाममा रहेको चार कठ्ठा गुठी जग्गा लिजमा प्राप्त गरेको छ।

सोमबार काठमाडौंस्थित गुठी संस्थानको केन्द्रीय कार्यालयमा महासङ्घ र गुठी संस्थानबीच औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा महासङ्घको तर्फबाट प्रदेश अध्यक्ष श्याम बन्जारा र गुठी संस्थानका प्रमुख प्रशासकीय अधिकृत शैलेशराज कुवँरले हस्ताक्षर गरेका थिए। सो अवसरमा महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ साक्षीका रूपमा उपस्थित थिए।

सम्झौताअनुसार श्रीराम मन्दिर गुठी अन्तर्गतको जनकपुरधामको मुटुमा अवस्थित चार कठ्ठा जग्गामा आधुनिक, सुविधासम्पन्न र बहुउपयोगी भवन निर्माण गरिनेछ। सम्झौता पश्चात आयोजित समारोहमा अध्यक्ष बन्जाराले गुठी संस्थानप्रति आभार व्यक्त गर्दै यो उपलब्धिले मधेशमा पत्रकारिता पूर्वाधार विकासमा नयाँ युगको सुरुवात गर्ने बताए।

हस्ताक्षर कार्यक्रममा महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आर्चाय, महासचिव रामप्रसाद दहाल, सचिव खतिवडा, लेखा संयोजक केसी लामिछाने, प्रदेश उपाध्यक्ष अम्बिका दहाल, सचिव हदिस खुदार, सदस्य अजय साह, प्रेच चौतारी नेपालका महासचिव हिरामान लामा, गुठी संस्थानका प्रमुख इन्जिनियर शालिकग्राम सुवेदीलगायतको उपस्थिति थियो।

महासचिव महतोका अनुसार अब भवन निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढ्नेछ। डिजाईन, नक्सा पास लगायत सम्पूर्ण तयारी युद्धस्तरमा भइरहेको छ।

भवन निर्माणका लागि मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा बजेट सुनिश्चित गरिसकेको छ। भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोज कुमार यादवले यसबारे जानकारी दिएका छन्।

प्रदेश सरकारका मुख्यमन्त्री शतिश कुमार सिंहले पत्रकार महासङ्घको भवन निर्माणमा कुनै कमी नहुने पटकपटक आश्वासन दिँदै आएको सन्दर्भमा यस ऐतिहासिक कदमले मधेशका सञ्चारकर्मीहरूमा उत्साह थपेको छ।

अध्यक्ष बन्जाराले समग्र पत्रकारिता विकासका लागि सरकारका विभिन्न तहसँग सहकार्य गर्दै सुशासन र लोकतान्त्रिक गणतन्त्रका आधारभूत तत्व नागरिकको घरदैलोमा पुर्याउन महासङ्घ प्रतिबद्ध रहेको स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *