“एक घर, एक बिरुवा” अभियान अन्तर्गत वीरगञ्जमा निःशुल्क बिरुवा वितरण

Spread the love

वीरगञ्ज, साउन २१ 


वीरगञ्ज महानगरपालिकाले हरियाली प्रवर्द्धन र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित “एक घर, एक बिरुवा” अभियानअन्तर्गत फलफूलका बिरुवा निःशुल्क वितरण थालेको छ। बुधबार घण्टाघर चोकमा आयोजित विशेष कार्यक्रममा वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह स्वयं सहभागी भई स्थानीयवासीहरूलाई बिरुवा वितरण गर्नुभयो।

कार्यक्रममा आँप, लिच्ची, कागती, अनार, अम्बा र बेल जस्ता लोकप्रिय फलफूलका बिरुवाहरू वितरण गरिएका थिए। महानगरले यस अभियानअन्तर्गत करिब ५ हजार बिरुवा वितरण गर्ने लक्ष्य राखेको छ भने पहिलो चरणमा ३ हजार बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख रोशनी यादवले जानकारी दिनुभयो।

नगर प्रमुख सिंहले अभियानप्रति उत्साह व्यक्त गर्दै भन्नुभयो, “हरियालीले शहरलाई स्वस्थ बनाउँछ। घर–घरमा बिरुवा रोपेर हामी वातावरणीय सन्तुलनमा ठूलो योगदान दिन सक्छौं।” उहाँले स्वच्छ, हरित र सुन्दर वीरगञ्जको परिकल्पनासहित महानगर अगाडि बढिरहेको पनि उल्लेख गर्नुभयो।

महानगरपालिकाले अभियानलाई प्रभावकारी बनाउन सार्वजनिक स्थल, विद्यालय, धार्मिक स्थल र इच्छुक घरधुरीहरूमा बिरुवा वितरण गरिरहेको छ। स्थानीयबासीहरूले महानगरको यस प्रयासको खुलेर सराहना गरेका छन्।

महानगरले आगामी दिनमा पनि यस्ता अभियान निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ।

Scroll to Top