वीरगञ्ज, १२ असार
वीरगञ्जको प्रमुख धार्मिक स्थल गहवामाई मन्दिरको १३औं पुनर्निर्माण वार्षिकोत्सवको अवसरमा शुक्रबार विशेष ‘गहवामाई रथयात्रा’ आयोजना हुने भएको छ। एक लाखभन्दा बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएको यो रथयात्रालाई लक्षित गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालका अनुसार रथयात्रालाई पूर्ण रुपमा सुरक्षित ढंगले सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीहरूलाई हाइ अलर्टमा राखिएको छ। “रथयात्राको सुरक्षाका लागि प्रहरी प्रशासन सतर्क छ,” सिडिओ अर्यालले बताए।
गत चैत ३० गते वीरगञ्जमा भएको हनुमान जयन्ती शोभायात्रामा दुई फरक धर्म समुदायबीचको झडपले शहरमा तीन दिन तनाव सिर्जना गरेको थियो। त्यसलाई ध्यानमा राख्दै सम्भावित जोखिम न्यूनीकरण गर्न बिहीबार सिडिओ, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरू सहितको टोलीले रथयात्रा परिक्रमा मार्गको स्थलगत निरीक्षण समेत गरेको छ।
यसै क्रममा केही दिनअघि नेपाल प्रहरी मधेस प्रदेशका डीआईजी उमा चर्तुवेदीले पनि वीरगञ्ज आइपुगेर स्थलगत निरीक्षण गर्दै रथयात्राको सुरक्षामा कुनै कमजोरी हुन नदिन जिल्ला सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएकी थिइन्।
गहवामाई मन्दिर तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा रथयात्रामा नेपालका विभिन्न जिल्ला र भारतका सीमावर्ती शहरबाट एक लाखभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको बताए। उनले रथयात्राको सम्पूर्ण सुरक्षाका लागि सुरक्षा निकायसँग पटक–पटक समन्वय भएको जानकारी गराउँदै समितिका तर्फबाट पनि २०० बढी स्वयंसेवक परिचालन गरिने बताए।
शुक्रबार बिहान ७ः३० बजे गहवामाई मन्दिरमा विशेष पूजापछि रथयात्रा सुरु भई नगरका विभिन्न स्थानको परिक्रमा गर्ने र पुनः मन्दिर प्रांगणमै समापन हुने कार्यक्रम तय गरिएको छ। साँझ मन्दिर परिसरमा धार्मिक भजन–किर्तन हुनेछ भने शनिबार ‘महाभण्डारा’को आयोजना गरिनेछ।
रथयात्रालाई भव्य र व्यवस्थित बनाउन करिब २० देखि २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसै अवसरमा वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शुक्रबार सार्वजनिक बिदा दिएको छ।
स्थानीय प्रशासन, सुरक्षा निकाय र आयोजकबीचको समन्वय, सतर्कता र व्यवस्थापनले यसपालिको रथयात्रा शान्तिपूर्ण र भव्य हुने अपेक्षा गरिएको छ।


