वीरगञ्ज वडा नं. ७ मा पानी वितरणमा राजनीति , वडा अध्यक्ष महर्जनमाथि पक्षपातको आरोप

Spread the love

वीरगञ्ज, पर्सा 

असार १

गर्मीको चर्को मौसमसँगै वीरगञ्जमा खानेपानीको समस्या दिनप्रतिदिन चुलिंदै गइरहेका बेला वीरगञ्ज महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष हिराकाजी महर्जनमाथि पानी वितरणमा राजनीति गरेको आरोप लागेको छ।

स्थानीयहरूका अनुसार विगतमा वडा कार्यालयले वडावासीहरूको सुविधाका लागि सार्वजनिक बोरिङ जडान गरी खानेपानीको व्यवस्था गर्दै आएको थियो। तर हाल अध्यक्ष महर्जनले उक्त सुविधा आफ्ना निकट दलका नेता, कार्यकर्ता तथा आसेपासेहरूको घरसम्म सीमित गर्दै बाँकी सर्वसाधारणलाई बेवास्ता गरेको गुनासो छ।

नाम नखुलाउने शर्तमा एक वडाबासीले भने, “हामी सामान्य जनतालाई घण्टौं लाइन बस्नुपरेको छ, केही ठाउँमा त पानी नै आउँदैन। तर वडा अध्यक्षले आफ्ना मान्छेका घरमा सिधा टंकीमा पाइप जोडेर सेवा दिएका छन्। यस्तो असमान व्यवहार जनविरोधी हो।”

वडामा पानीको अभाव हुँदा पनि सार्वजनिक बोरिङको पाइप एक पक्षका घरमै जडान गरिनु विधि र न्याय विरुद्ध रहेको स्थानीयहरूको भनाइ छ।

खानेपानी वितरणमा भएको भनिएको पक्षपातबारे जानकारी लिन वडा अध्यक्ष हिराकाजी महर्जनलाई बारम्बार सम्पर्क गर्न प्रयास गरिए पनि फोन नउठेपछि प्रतिक्रिया लिन सकिएको छैन।

स्थानीय तहको नेतृत्वले आमजनताको सेवा गर्ने विश्वासमा निर्वाचित भए पनि अध्यक्ष महर्जनको हालको रवैयाले सर्वसाधारणको बीचमा निराशा र असन्तोष बढेको देखिन्छ।

वडावासीहरूले यस विषयमा छानबिन गर्दै खानेपानी वितरणमा समान पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

Scroll to Top