वीरगञ्ज । संसद्को नयाँ भवनमा सञ्चालनमा रहेको अस्थायी क्यान्टिन बन्द भएको छ । क्यान्टिको चर्को मूल्यको बारेमा संसद बैठकमै प्रश्न उठेपछि बन्द भएको हो ।
चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले मंगलबार प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन सञ्चालनप्रति प्रश्न उठाएका थिए ।
आज नयाँ बिल्डिङमा रहेको अस्थायी रुपमा राखिएको संरचना बन्द गरिएको हो । क्यान्टिनका एक कर्मचारीले अस्थायी रुपमा राखिएको ठाउँको क्यान्टिन बन्द भएको बताउँदै साविकको ठाउँबाट भने सञ्चालन भइरहेको बताए ।
उनका अनुसार सिंहदरबारभित्र सञ्चालिन क्यान्टिन भने बन्द भएको छैन, नयाँ भवनमा राखिएको अस्थायी प्रकृतिको संरचना भने बन्द गरिएको हो । यद्यपी क्यान्टिन सञ्चालकले भने सांसद सुनारले भने जस्तो मूल्य नरहेको जनाएका छन् । सांसद सुनारले संसद् भवनको बरण्डामा राखेको फाइभस्टार होटल कसको हो ? भनेर उनले प्रश्न गरेका थिए ।
उनले प्रश्न गर्दै भनेका थिए–‘कालो चियाको १०० रुपैयाँ र ममको ३०० रुपैयाँ तिर्ने हैसियत अहिलेका सांसदहरूको छ कि छैन ?’ उनले क्यान्टिनको मूल्यले सांसद तथा कर्मचारीको आर्थिक अवस्थामाथि समेत भार परेको बताएका थिए। साथै, फाइभ स्टार होटल संसदको बरण्डाबाट बाहिर निकाल्नुपर्ने माग राखेका थिए ।



