बीरगंज , असोज १६
सन्तानको दीर्घायु, सुस्वास्थ्य, सुख–शान्ति र समृद्धिको कामना गर्दै तराई–मधेसमा मनाइने धार्मिक तथा सांस्कृतिक पर्व जितिया (जिउतिया) आजदेखि नहाय–खाय विधिबाट सुरु भएको छ।
जितिया पर्वको पहिलो दिन व्रतालु महिलाहरूले बिहानै नदी, पोखरी तथा जलाशयमा स्नान गरी शुद्ध भएर परम्पराअनुसार पूजा–आराधना गर्ने र त्यसपछि विशेष परिकार ग्रहण गर्ने चलन रहेको छ। नहाय–खायलाई व्रतको तयारी तथा शुद्धीकरणको महत्वपूर्ण दिनका रूपमा लिइन्छ।
जितिया पर्व विशेषगरी तराई–मधेसका थारु, मधेशी तथा अन्य समुदायका महिलाहरूले आफ्ना सन्तानको दीर्घायु र परिवारको सुख–समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाउने गरेका छन्।
आज नहाय–खाय सम्पन्न गरेपछि भोलि असोज १७ गते मुख्य जितिया व्रत बस्ने र असोज १८ गते पारणा गर्ने धार्मिक परम्परा रहेको छ। यस अवधिमा व्रतालु महिलाहरूले कठोर उपवास तथा विभिन्न धार्मिक विधि पालना गर्ने गर्छन्।
जितिया पर्वले तराई–मधेसको मौलिक संस्कृति, मातृस्नेह, पारिवारिक एकता र सामाजिक सद्भावलाई समेत प्रतिबिम्बित गर्ने गर्दछ।


