आदर्शनगर रंगशालाको संरक्षण तथा व्यवस्थापनका लागि गोपाल प्रसाद खेतान संयोजक नियुक्त

Spread the love

वीरगंज, साउन २२
 

वीरगंज महानगरपालिका–१० स्थित आदर्शनगर रंगशालाको संरक्षण, मर्मत–सम्भार, सम्वर्द्धन र प्रभावकारी सञ्चालनका लागि गोपाल प्रसाद खेतानलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।

महानगर प्रमुख राजेशमान सिंहद्वारा हस्ताक्षरित पत्रमार्फत खेतानलाई यो जिम्मेवारी दिइएको हो। पत्रमा उल्लेख भएअनुसार, विगतमा पनि खेतानले रंगशालाको संरक्षण र व्यवस्थापनमा पुर्‍याएको योगदान उल्लेखनीय रहेकाले उनलाई पुनः जिम्मेवारी दिइएको जनाइएको छ।

महानगरको नीति अनुसार अब रंगशालालाई खेलकुद क्षेत्रको वृत्ति विकास र स्तरोन्नयनका लागि मात्र प्रयोग गरिने भएको छ। सोही नीति कार्यान्वयनमा टेवा पुगोस् भन्ने उद्देश्यले खेतानलाई संयोजक बनाइएको हो।

नगरपालिकाले खेतानबाट रंगशालाको समग्र समन्वय, आवश्यक मर्मत–सम्भार, व्यवस्थापन तथा स्थानीय खेल गतिविधिहरूलाई प्रोत्साहन दिने कार्यमा अनुभव, सिप र दक्षता प्रयोग गरिने अपेक्षा गरेको छ। प्रमुख सिंहले खेतानलाई सफल कार्यकालको शुभकामना दिँदै इमान्दार र समर्पित भावनाका साथ दायित्व निर्वाह गर्न आग्रह गरेका छन्।

आदर्शनगर रंगशाला वीरगंजको एक महत्वपूर्ण खेल संरचना हो, जहाँ विभिन्न खेल तथा सांस्कृतिक कार्यक्रमहरू हुँदै आएका छन्। पछिल्ला वर्षहरूमा यसको संरक्षण र स्तरोन्नतिको माग व्यापक बनेको थियो।

खेतानको संयोजक नियुक्तिको खबर सार्वजनिक भएसँगै खेलकुद क्षेत्रका अभियन्ता, खेलाडी तथा स्थानीय बासिन्दाहरूले स्वागत गरेका छन्। उनीहरूले खेतानको नेतृत्वमा रंगशाला अझ व्यवस्थित र उद्देश्यअनुसार सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।

Scroll to Top